काठमाडौँ। जिनेदिन जिदानले जुन २०२१ मा स्पेनिस क्लब रियल मड्रिडको टचलाइन छाडेका थिए। त्यसबेला उनलाई इटालियन क्लब युभेन्ट्स र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)जस्ता क्लबहरू मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिन तयार थिए।
त्यतिखेर उनले फ्रान्सको राष्ट्रिय टोली सम्हाल्न लागेको चर्चा पनि चुलिएको थियो। तर, उनी टचलाइनमा उभिन अनिच्छुक देखिए।
अहिले उनलाई जर्मन क्लब बायर्न म्युनिखले प्रशिक्षकको प्रस्ताव गरेको बताइन्छ। जर्मन मिडियाहरूका अनुसार थोमस टुचेलको स्थानमा उनलाई बायर्नले प्रशिक्षक बनाउन लागेको हो।
क्लबले फेब्रुअरीमा टुचेलले बायर्न छाड्ने तयारी गरेको जानकारी दिएको थियो। टुचेलको प्रशिक्षणमा खेलेको बायर्नले यसपटक जर्मन बुन्डेसलिगाको उपाधिसमेत बायर लेभरकुसेनलाई सुम्पिसकेको छ। सिजनका ५ खेल बाँकी रहँदा बायर्न अंक तालिकामा १६ अंकले पछाडि रहेको छ।
यसपटक च्याम्पियन्स लिगबाहेक बायर्न अन्य कुनै प्रतियोगिताको उपाधि होडमा रहेको छैन। सन् २०२३ मा पनि बायर्नले बुन्डेसलिगा लगभग गुमाइसकेको थियो।
टुचेलको प्रशिक्षणमा खेलेको बायर्नले अन्तिम म्याचडेमा कोल्नलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितको थियो।
निक्कै प्रतिस्पर्धात्मक रहेको अंक तालिकामा बोरुसिया डर्टमन्डसँग गोल संख्यामा अगाडि रहँदै बायर्नले उपाधि जितेको थियो।
यद्यपि, डीएफबी पोकलमा बायर्न दोस्रो राउन्डबाट बाहिरियो भने च्याम्पियन्स लिगमा समूह चरणबाट माथि उक्लिन सकेन। यस्तै, सुपर कपको फाइनलमा पनि आरबी लाइपजिगसँग ३-० गोल अन्तरले पराजित हुँदा बायर्नले उपविजेतामा चित्त बुझाउनु पर्यो।
बायर्नले यस सिजन सुधारको प्रयास गर्ने छ। उसले लिजेन्डरी पूर्वखेलाडी फ्रान्क रिबेरीलाई सहायक प्रशिक्षकको रूपमा भित्र्याउने तयारी गरेको छ। यता, जिदानलाई भाषामा समस्या रहेको बताइन्छ।
उनले जर्मन र अंग्रेजी भाषा बोल्न सक्दैनन्। सन् २०२१ मा रियल छाडेपछि जिदानले कुनै क्लब सम्हालेका छैनन्। यद्यपि, बायर्नसँग नजिक रहेका व्यक्तिसँग भने उनी सम्पर्कमा रहिरहेको जर्मन मिडियाहरूको दाबी छ।
तर, जिदान फ्रान्सको राष्ट्रिय टोली हेर्ने मुडमा रहेको पनि बताइएको छ। अहिले डिडियर डेसच्याम्प्सले फ्रान्सेली टोली सम्हालिरहेका छन्। उनले सन् २०२६ विश्वकपको अन्त्यसम्म राष्ट्रिय टोली हेर्ने छन्। जिदानलाई भित्र्याउन असफल भए बायर्नसँग केही विकल्पहरू छन्।
३३ पटकको बुन्डेसलिगा च्याम्पियनका लागि ब्राइटनका प्रशिक्षक रोबर्टो डे जर्बी पनि बायर्नको एक विकल्प हुन्। डे जर्बीले इङ्लिस प्रिमियर लिगमा गत सिजन ब्राइटनलाई छैटौँ स्थानमा पुर्याएका थिए। त्यसपछि उनी चर्चाको शिखरमा पुगेका थिए।
यसपटक भने मुख्य खेलाडीले चोटको समस्या भोगेपछि ब्राइटनले प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। ब्राइटन ११ जित, ११ बराबरी र १० पराजयसँगै १०औँ स्थानमा छ।
जुलियन नागेल्सम्यान, हान्सी फ्लिक र जोसे मोरिन्होको नाम पनि बायर्नको सम्भावित प्रशिक्षकको रुपमा लिइँदै आएको छ। यद्यपि, बायर्न भने लगातार तीन च्याम्पियन्स लिग उपाधि जित्ने प्रशिक्षकलाई नै कुरिरहेको बताइन्छ।