सिमरा। १४औँ जितपुरसिमरा गोल्डकपको उपाधिका लागि विभागीय टोली र मछिन्द्र फुटबल क्लब भिड्ने चएका छन्। सिमरा रंशालामा शनिबार राति सम्पन्न अन्तिम सेमिफाइनलअन्तर्गत विभागीय डर्बीमा एपीएफ क्लबलाई ३–२ गोल अन्तरले राजित गर्दै नेपाल पुलिसले मछिन्द्रसँगको भेट पक्का गरेको हो।
खेलको पहिलो मिनटमै पुलिसले अग्रता बनाएको थियो। एपीएफको टिम सम्हालिन नपाउँदै खेल शुरू भएको ४७ सेकेन्डमै पुलिसका आशिष राईले गोल गरे। उज्ज्वल राईको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिषको प्रहार गोलमा परिणत भयो।
२०औँ मिनटमा एपीएफ २–० ले पछि पर्यो। रामचन्द्र वाजेको गोलमार्फत पुलिसले एपीएफविरुद्ध फराकिलो अग्रता बनायो। उज्ज्वलको क्रस बल सम्हाल्दै रामचन्द्रले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरे।
४२ औँ मिनटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई २–१ को स्थितिमा ल्याए। बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदीपले गोल गरे।
६१औँ मिनटमा युवराज खड्काको गोलमार्फत् एपीएफ खेलमा फर्कियो। प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१औँ मिनटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए। युवराजले अनीश महर्जनको पासमा वन भर्सेस वनको स्थितिको सदुपयोग गर्दै एपीएफलाई खेलमा फर्काए।
८८ औँ मिनटमा सुजन मगरले एपीएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए। पृथ्वी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए। तर, रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे।
खेलको अन्तिम इन्जुरी समयमा एपीएफ १० खेलाडीमा सीमित भयो। पुलिसका खेलाडीसँग विवाद गर्न थालेपछि रेफ्री उमेश विडारीले एपीएफका विश्वास उदासलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
दोस्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभिजन क्लब मच्छिन्द्रसँग सोमबार प्रतिस्पर्धा गर्नेछ। पुलिस ९ वर्षअघि प्रतियोगिताको छैटौँ संस्करणको फाइनलमा अर्को विभागीय टोली आर्मीसँग पराजित भएको थियो।
खेलको म्यान अफ दि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए।