गोरखा। नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएका छन्। ओसन क्लब गोरखाको आयोजना बुधबारदेखि क्लबको टर्फ मैदान दल भन्ज्याङमा शुरू भएको प्रतियोगिता पुल ए बाट वाल्मीकि शिक्षा सदनले विजयी शुरूआत गरेको छ।
वाल्मीकीले पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्र काठमाडौँलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। वाल्मीकीको जितमा अर्पण पौडेल र आदित्य लामिछानेले २/२ गोल गरे। यस्तै, आयुष खड्का र कुशल बस्नेतको नाममा १/१ गोल रह्यो। आदित्य म्यान अफ द म्याच भए। यही पुलको अर्को खेलमा लक्ष्मी सामुदायिक शिक्षा प्रतिष्ठान र घोडाघोडी फुटबल एकेडेमी २–२ गोलको बराबरीमा रोकिए।
लक्ष्मीका अनुप रोका र सफल कुँवरले गोल गरे। यस्तै, घोडाघोडीका लागि दुवै गोल दिपेश शाहीले गरे। दिपेश म्यान अफ द म्याच भए।
पुल बी को पहिलो खेलमा नव जनजागृति युवा क्लबसँग विराटनगर सिटी फुटबल क्लब (बीसीएफएन) ४–१ गोल अन्तरले पराजित भयो।
नव जनजागृतिका लागि सुजन तामाङ र समर थापाले २/२ गोल गरे। बीसीएफएनका लागि रोसिक राईले एक गोल गरे। खेलको म्यान अफ द म्याच सुजन भए।
अर्को खेलमा क्यासिस स्पोर्ट्स एकेडेमीले थ्रीस्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्यो। क्यासिसका लागि सन्दीप अधिकारीले २ र रमित गुरुङले एक गोल गरे । थ्रीस्टारका लागि एकमात्रै गोल पारस आदीले गरे। सन्दिप म्यान अफ द म्याच भए।
अर्को खेलमा थ्रीस्टारले हिली फिल्डर्स गोरखा एफसीलाई ४–० गोल अन्तरले पराजित गर्यो। थ्रीस्टारका प्रसिधा बालम्पकी मगर, विनोद वाइबा, पारस आदी र सुवर्ण राईले १/१ गोल गरे । खेलको म्यान अफ द म्याच सुवर्ण भए।
यस्तै, पुल बीको अन्तिम खेलमा क्यासिस स्पोर्ट्स एकेडेमीले नव जनजागृति युवा क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्यो। क्यासिसका लागि रमित गुरुङले २, सन्दिप अधिकारी, मिङ्मा लामा र समर्पण राउतले १/१ गोल गरे । मिङ्मा म्यान अफ द म्याच भए।