सिमरा। सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब १४औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिमरा रंशालामा सोमबार राति सम्पन्न दोस्रो क्वार्टरफाइनलमा मकवानपुर–११ हेटौँडालाई २–० गोल अन्तरले पाखा लगाउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो। एपीएफको जितमा बिके तामाङ र प्रदीप लामाले एक–एक गोल गरे।
हेटौँडाविरुद्ध शुरूदेखि नै आक्रामक खेल खेलेको एपीएफका लागि खेलको ३०औँ मिनटमा बिके तामाङले गोल गर्दै अग्रता दिलाएका थिए। विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौँडाका डिफेन्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपीएफले खेलको ६८ औँ मिनटमा अग्रता दोब्बर बनायो। एपीएफका प्रदीप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे। सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डीबक्सभित्र सम्हाल्दै लामाले आकर्षक गोल गरेका थिए।
दोस्रो हाफमा एपीएफविरुद्ध केही राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौँडाको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौँडाका उत्कृष्ट प्रहारहरू विफल पारेका थिए।
खेलको म्यान अफ दी म्याच एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए। उनले १० हजार नगद र ट्रफि प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई ‘ए’ डिभिजन टोली त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ। वीरगञ्जलाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको आर्मीविरुद्ध विराट गोल्डकपको उपाधि लिएर विराटनगरबाट सिमरा आएको मच्छिन्द्र क्लब सिधै सेमिफाइनल प्रवेशका लागि खेल्नेछ।