काठमाडौं । केलियन एमबाप्पेलाई बेन्चमा राखेको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा रिम्ससँग बराबरी खेलेको छ ।
आईतबार पीएसजीले घरेलु मैदानमा रिम्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको छैटौं मिनेटमा रिम्सले मार्सल मुनेत्सीको गोलमा अग्रता बनाएको थियो । खेलको १७ औं मिनेटमा युनिस अब्देलहामिदको आत्मघाति गोलमा पीएसजीले खेल बराबरी गर्यो ।
दुई मिनेट लगत्तै गोन्कालो रामोसले सिजनको आफ्नो छैटौं लिग वान गोल गर्दै पीएसजीलाई खेलमा अघि बढाएका थिए । तर पहिलो हाफको अन्तिम मिनेटमा ओउमर डायकाइटले रिम्सका लागि बराबरी गोल फर्काए ।
प्रशिक्षक लुईस एनरिकले ७३ औं मिनेटमा एमबाप्पेलाई मैदान छिराएका थिए । तर रिम्सले एम्बाप्पेलाई खासै अवसर भने दिएन । एम्बाप्पेको पीएसजीसँगको सम्झौता यसै समरमा सकिदैछ । उनी स्पेनिस क्लब रियल मड्रिड जाने अन्तिम तयारीमा छन् ।
शीर्ष स्थानको पीएसजीले ५६ अंक जोडेर लिगमा १० अंकको अग्रता बनाएको छ । रिम्स ३५ अंक सहित तालिकाको नवौं स्थानमा छ ।