काठमाडौं । रियल मड्रिड स्पेनिस लिगको उपाधि नजिक पुगेको छ ।
आईतबार घरेलु मैदानमा सेल्टा भिगोलाई ४–० गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो । रियल मड्रिडले ला लिगामा ७ अंकको अग्रता बनाएको छ ।
जुड बेलिङ्घम बिनै मैदान उत्रिएको रियललाई अग्रता भिनिसियस जुनियरले २१ औं मिनेटमा दिलाएका थिए । दोस्रो गोलका लागि रियलले दोस्रो हाफको अन्तिम समयनै प्रतिक्षा गर्न पर्यो । खेलको अन्तिम तीन मिनेटमा रियलले तीन गोल प्राप्त गरेको हो ।
सेल्टाका गोलकिपर भिसेन्ट गुइताले बल आफ्नै पोस्टमा छिराएपछि रियलले ७९ औं मिनेटमा अग्रतालाई दोब्बर बनाएको थियो । एन्टोनियो रुडिगरको हेड प्रहार बारमा लागेर फर्किएको थियो । बारमा लागेर फर्किएको बल गुइतालाई लाग्दै पोस्टको दिशा लिएको थियो ।
खेल सकिन दुई मिनेट अघि बल क्लियर गर्ने प्रयासमा कार्लोस डोमिन्गुएजले आत्मघाति गोल गरेपछि रियल ३–० ले अघि बढेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको आरदा गुलेरले कठिन कोणबाट गोल गर्दै रियललाई ४–० को शानदार जित दिलाए ।
रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको सेल्टाले रियललाई खासै दबाब दिन सकेन । रियलले खेललाई नियन्त्रणमा राखेपनि पहिलो हाफमा गोल निकाल्न भने सकेन ।
शीर्ष स्थानको रियलको ६९ अंक भएको छ । दोस्रो स्थानको जिरोनाको ६२ अंक छ । सेल्टा भिगो २४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।