काठमाडौं । ह्यारी केनले बुन्डेसलिगामा कीर्तिमानी ह्याट्रिक पुरा गर्दा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार केनले डेब्यु सिजनमै बायर्नका लागि कीर्तिमानी चौथों ह्याट्रिक पुरा गर्दा बायर्नले मेन्जलाई ८–१ गोल अन्तरले हराएको हो ।
पछिल्लो जितले बायर्नले शीर्ष स्थानको बायर लिभरकुसेनसँगको दुरी ७ अंकमा झारेको छ । आईतबार लिभरकुसेनले उल्फसवर्गसँग खेल्ने तालिका छ ।
ईङ्ल्याण्ड कप्तान केनले २५ बुन्डेसलिगा खेलमा ३० गोल पुरा गरे ।
बायर्न लगातार १२ औं लिग उपाधिको खोजीमा रहेको छ । तर उसको जाभी अलान्सो नेतृत्वको लिभरकुसेनसँग अंक दुरी ठुलो देखिएको छ ।
खेलमा अग्रता बायर्नले १३ औं मिनेटमा ह्यारी केनको गोलमा लिएको थियो । लियोन गोरेत्जकाले १९ औं मिनेटमा बायर्नको अग्रतालाई दोब्बर बनाउने काम गरे । मेन्जका नदीम अमिरीले ३१ औं मिनेटमा पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर गोरेत्जकाको क्रसमा केनले पहिलो हाफको इन्जुरी समयमा बायर्नका लागि तेस्रो गोल गरेका थिए ।
दोस्रो हाफमा थोमस मुलरको गोलमा बायर्न खेलमा अघि बढेको थियो । मुसियाला र सर्ज नेब्रीले लगातार दुई गोल गरेपछि बायर्नले खेलमा ६–१ को अग्रता लिन सफल रह्यो । खेलको ७० औं मिनेटमा केनले ह्याट्रिक पुरा गरे । खेलको इन्जुरी समयमा गोरेत्जकाले ब्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ८–० को शानदार जित दिलाए ।
केन यसै सिजन ८० मिलियन पाउण्डमा टोटेनहमबाट बायर्न आएका हुन् । उनले यस सिजन देश र क्लबका लागि ४० गोल गरेका छन् । दोस्रो स्थानको बायर्नको ५७ अंक छ । शीर्ष स्थानको लिभरकुसेनको ६४ अंक छ । मेन्ज १६ अंक सहित रेलिगेशन जोनमा छ ।