काठमाडौं । आर्सनल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार घरेलु मैदानमा ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको जितमा काई हभार्ट्जले विजयी गोल गरेका छन् । खेल सकिन चार मिनेट अघि हभार्ट्जले लण्डन क्लबका लागि विजयी गोल गरेका हुन् ।
खेलमा अग्रता आर्सनलले १९ औं मिनेटमा डेक्लन राइसको गोलमा लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा योएन विस्साले ब्रेन्टफोर्डका लागि बराबरी गोल फर्काएका थिए ।
आर्सनलले उपाधि होडमा देखिएका लिभरपुल र म्यानचेस्टर सिटीलाई पछि पारेको छ ।
शीर्ष स्थानको आर्सनलले ६४ अंक जोडेको छ । लिभरपुल ६३ अंक सहित दोस्रो र सिटी ६२ अंक सहित तेस्रो स्थानमा छ । यद्धपी लिभरपुल र सिटीले एक खेल कम खेलेका छन् ।
ब्रेन्टफोर्ड २६ अंक सहित तालिकाको १५ औं स्थानमा रहेको छ ।
शनिबारनै म्यानचेस्टर युनाईटेडले एभर्टनलाई २–० ले हरायो । ब्रुनो फर्नान्डेजले १२ औं मिनेटमा पेनाल्टीमा युनाईटेडलाई अघि बढाएका थिए । खेलको ३६ औं मिनेटमा पेनाल्टीमै मार्कोस रासफोर्डले युनाईटेडका लागि दोस्रो गोल गरेका थिए ।
जित सहित युनाईटेडले ४७ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एभर्टन २५ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।