काठमाडौं । चर्च ब्वाईज युनाईटेड छैटौं संस्करणको झापा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
शनिबार आयोजक झापा-११ लाई टाईब्रेकरमा हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरका आधारमा गरिएको थियो । जसमा चर्च ब्वाईजले ४–३ ले बाजी मारेको हो ।
टाइब्रेकरमा झापा-११ का आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईले गोल गरेका थिए ।
झापाका प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने विदेशी खेलाडी ह्यारिसनको प्रहार चर्च ब्वाईजका दीप कार्कीले बचाएका थिए ।
चर्च ब्वाईजका सुरजज्यू ठकुरी, विजय भुजेल, ओबायामी र दीप कार्कीको प्रहार सफल भएको थियो । विदेशी खेलाडी सोर्गेटिकाको प्रहार झापाका सन्दीप लिम्बुले बिफल बनाएका थिए ।
चर्च ब्वाईजले अब उपाधिका लागि विभागीय टिम एपीएफसँग खेल्नेछ ।
झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सोझै १४ जना र ११ जना खेल्नुपरेकाले जित निकाल्न नसकेको आरोप लगाए । ‘हार जित त हुन्छ तर रेफ्रीले निष्पक्ष खेल खेलाउन सकेनन् ।’ उनले भने ।
फाइनल प्रवेशका लागि आफ्नो टिमले आश गरे अनुसारकै खेल प्रदर्शन गरेको भन्दै उनले खेलाडीले आफ्नो पोजिसनमै खेलेको बताए ।
चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले खेल सोचेभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिए । ए डिभिजन लिगपछिको नयाँ टिम रहे पनि प्रदर्शन सम्झनलायक भएको उनले सुनाए । नयाँ खेलाडी नथप्ने बताउँदै उनले एपीएफसँगको भेट रोचक बन्ने बताए ।
फागुन १९ बाट सुरु भएको प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले सात लाख रुपैँया प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।