काठमाडौं । लिभरपुल युरोपा लिग फुटबलको क्वार्टरफाइनल नजिक पुगेको छ ।
बिहीबार अन्तिम १६ को पहिलो लेगको खेलमा स्पार्ट प्रागमाथि ५–१ को शानदार जित निकाल्दै लिभरपुल क्वार्टरफाइनलको नजिक पुगेको हो ।
एलेक्सिस मेक एलिस्टरको पेनाल्टी गोलमा लिभरपुल खेलको छैटौं मिनेटमा अघि बढेको थियो ।
डार्विन नुनेजले २५ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा नुनेजले ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ३–० ले अघि बढाए ।
दोस्रो हाफको पहिलो मिनेटमै कानर ब्रेडलीको आत्मघाति गोलमा घरेलु टोलीले गोल अन्तरलाई ३–१ मा झारेको थियो । त्यसको ७ मिनेटमै लुईस डियाजले लिभरपुललाई ४–१ को अग्रता दिलाए । इन्जुरी समयमा वैकल्पिक खेलाडी डोमिनिक स्जोबोस्जलाईले लिभरपुलका लागि पाँचौं गोल गरेका थिए ।
चोटबाट मुक्त हुँदै मोहमद सलाहा मैदान फर्किएका थिए । उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर गोल पनि गरेका थिए । तर रेफ्रीले उनको गोललाई मान्यता दिएनन् ।
दोस्रो लेगको खेल एनफिल्डमा मार्च १४ मा हुनेछ ।