काठमाडौं । लुईस सुआरेजले अन्तिम समयमा गोल गरेपछि इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपमा हारबाट जोगिएको छ ।
इन्जुरी समयमा सुआरेजले गोल गर्दै प्रतियोगिताको अन्तिम १६ को पहिलो लेगको खेलमा मियामीलाई हारबाट जोगाएका हुन् ।
शुक्रबार बिहान मियामीले महादेशीय प्रतियोगिताको पहिलो लेगको खेलमा नेसविल एससीसँग २–२ गोलको बराबरी खेलेको छ ।
नेसलिका जेकब शेफेलबर्गले लगातार दुई गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए ।
मेस्सीले ५२ औं मिनेटमा गोल गर्दै मियामीलाई खेलमा फर्काउने कोशिश गरे । प्रतियोगितामा मेस्सीको यो डेब्यु गोल समेत हो । पहिलो लेगमा हारतर्फ उन्मुख मियामीका लागि सुआरेजले इन्जुरीको अन्तिम समयमा गोल गर्दै बराबरीमा ल्याएका थिए ।
महादेशीय प्रतियोगिताको रुपमा रहेको कोन्काकाफ च्याम्पियन्स कपमा नर्थ अमेरिका, सेन्ट्रल अमेरिका र क्यारेबियन क्षेत्रका २७ क्लबले खेल्नेछन् ।
प्रतियोगिताको विजेता टिमले महादेशीय प्रतिनिधित्व गर्दै क्लब विश्वकप खेल्नेछ ।