एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले साँघुरो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक बिल्बाओलाई ३ - २ ले पराजित गरेको हो ।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन थोमस, रोड्री र डिएगो गोडिनले एक एक गोल गरे । बिल्बाओका दुवै गोल इनाकी विलियम्सले गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने बिल्बाओले लिएको थियो । खेलको ३६ औं मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाए । तर, खेलको ४९ औं मिनेटमा थोमसले गोल गर्दै एट्लेटिकोलाई १ - १ गोलको बराबरीमा फर्काए ।
खेलको ६४ औं मिनेटमा विलियम्सले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः बिल्बाओलाई २ - १ को अग्रता दिलाए । तर, खेलको ८० औं मिनेटमा रोड्रीले गोल गर्दै एट्लेटिकोलाई २ - २ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ९० औं मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिकोलाई ३ - २ को जित दिलाए ।
जितसंगै एट्लेटिकोले १२ खेलबाट २३ अंक जोडेको छ । र, एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिको शीर्ष स्थानको बार्सिलोना भन्दा १ अंकले पछि छ । बार्सिलोनाले एक खेल कम खेलेको छ । १० अंक जोडेको बिल्बाओ १७ औं स्थानमा छ ।