एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयलाई स्वीकार गर्नु पर्ने बताएका छन् ।
इन्ग्लिश प्रिमियर लिग अन्तर्गत टोटेनहमविरुद्ध २-२ गोलको बराबरी खेलेपछि बोल्दै प्रशिक्षक ग्वार्डीओलाले भीएआरको नियम मान्नु पर्ने बताए ।
टोटेनहमविरुद्ध भीएआर प्रविधिले ग्राबियल जिससको गोललाई मान्यता नदिदा सिटीले बराबरी खेल्नु परेको थियो ।
‘हामीले यो स्वीकार गर्नैपर्छ,’ प्रशिक्षक ग्वार्डीओलाले भने, ‘कठिन त हुन्छ नै किनकि हामीले अन्त्यमा गोल गरेका थियौं । तर,यसबारे भीएआरका मानिसलाई सोध्नुहोस, मलाई होइन ।’
खेलको निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएको खेलको इन्जुरी समयमा जिससले गोल गरेका थिए । तर, अफसाइड पोजिसनमा रहेका एम्रिक लापोर्टेको कुममा लागेको कारण भीएआरले त्यसलाई गोलको मान्यता नदिएको हो ।