काठमाडौं ।
६ खेलमा ४ हार र २ बराबरीको नतिजा ।
नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबको एएफसी कपको प्रर्दशन यस्तै रह्यो ।
यस क्रममा मनाङले ५ गोल ग¥यो । १४ गोल ब्यर्होयो ।
गत बर्षको सहिद स्मारक ए डिभिजन लिग विजेताको हैसियतले मनाङले एएफसी कप खेल्न पाएको हो ।
नेपाली क्लबको प्रतिनिधित्व गर्दै एएफसी कप खेलेको मनाङले जित विहिन हुँदै प्रतियोगिताको अन्त्य गर्यो । होम एण्ड अवेका आधारमा ६ खेल खेल्दा मनाङले एक जित समेत निकाल्न सकेन ।
तर मनाङ भने प्रतियोगितामा आफुहरु सफल भएको दाबी गर्छ ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेलपछि भने ‘क्लबको जुन स्तर हो, सोही अनुसार राम्रो खेल्यो । गोल र खेललाई मात्रै नहेरी समग्र प्रदर्शनबाट सन्तुष्ट छौ ।’
यसअघिका संस्करणमा एएफसी च्यालेन्ज कप हुने गरेको थियो ।
एन्फाको गम्भिर लापरबाहीले थ्रीस्टारले एक सिजन प्रतियोगिता खेल्नै पाएन । त्यसपछि एसियाली फुटबल महासंघले प्रतियोगिताको नाम र रुप परिवर्तन गर्दै पहिलो पटक एएफसी कपको अवधारणा अघि सारेको हो ।
यसअघि नेपाली क्लबले एएफसी च्यालेन्ज कप खेल्न छनोट खेल खेल्नु पर्दथ्याे । मनाङले नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक सिधै एएफसी कप खेल्न पाएको हो । लिग च्याम्पियन मनाङसँगै बंगलादेशको ढाका अवहानी लिमिटेड, भारतको आई लिग च्याम्पियन मिनर्वा पञ्जाब र भारतीय सुपर लिग च्याम्पियन चेन्नईयीन एफसी एउटै समूह सीको साउथ एसियन जोनमा रहेका थिए ।
समूहमा उत्कृष्ट प्रदर्शन गर्ने एक टिम साउथ एसियन जोनबाट दोस्रो चरणमा प्रवेश गर्न पाउने समिकरण थियो । त्यसमा मनाङ असफल रह्यो ।
प्रतियोगितामा एक खेल पनि जित्न नसकेको मनाङ प्रतियोगिताबाट बाहिरियो ।
प्रतियोगिताको सुरुवाती खेलमा ढाकाको अवहानी लिमिटेडसँग घरेलु मैदानमा मनाङ १–० ले पराजित भएको थियो । दोस्रो खेलमा चेन्नईयिन एफसीसँग उसैको घरमा २–० ले पराजित मनाङले तेस्रो खेलमा आईलिग च्याम्पियन भारतीय मिनर्वा पञ्जाबसँग २–२ को बराबरी खेल्न सफल रह्यो ।
प्रतियोगिताको तेस्रो खेलमा आएर मनाङले तालिकामा खाता खोल्यो ।
मनाङको बराबरी नतिजामा विदेशी खेलाडी अडेलाजा सोमिडे र अभिषेक रिजालले एक एक गोल गरेका थिए ।
प्रतियोगिताको चौथो खेलमा मिनर्वा पञ्जाबसँग घरेलु मैदानमा मनाङले एक एकको बराबरी खेल्यो । मनाङको लागि शाहिद अजिजले एक गोल गरेका थिए ।
पाँचौ खेल खेल्न मनाङको टिम ढाका पुग्यो । ढाकामा भने मनाङले प्रतियोगिताकै सबैभन्दा धेरै गोल खान पुग्यो । घरेलु मैदानमा १–० ले हारेको मनाङ अवे खेलमा ५–० ले पराजित हुन पुग्यो ।
योखेलसँगै मनाङ प्रतियोगिताबाट बाहिरिने तय भएको थियो ।
अन्तिम खेलमा मनाङ घरेलु मैदानमा भारतीय चेन्नईयीन एफसीसँग ३–२ ले पराजित भयो । दुई गोलले पछि परेको अवस्थामा विदेशी खेलाडी ओलावाले आफिजले मनाङलाई खेलमा फर्काएपनि अन्तिम समय समालिन नसक्दा नेपाली क्लब अंक खोस्न असफल रह्यो ।
मनाङका अभिषेक रिजाल एएफसी कपमा गोल गर्ने एक्ला नेपाली खेलाडी भए ।
मनाङले गरेका ५ गोलमा अभिषेक बाहेक सबै गोल विदेशी खेलाडीले गरे ।
कहाँ कहाँ चुक्यो त मनाङ ?
सिनियर खेलाडीबाट बढी अपेक्षा गर्नुनै मनाङको ठुलो कमजोरी रह्यो ।
राष्ट्रिय टिम र विदेशी खेलाडीले भरिएको मनाङका लागि सुरुवातबाटै खेलाडी लयमा देखिन सकेनन् । त्यही लय समात्न नसक्नु मनाङका लागि घातक बन्यो ।
मनाङमा रहेका गोलरक्षक विशाल श्रेष्ठ, कप्तान विराज महर्जन, देबेन्द्र तामाङ, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, हेमन गुरुङ, बिमल राना, अभिषेक रिजाल, अन्जन विष्ट राष्ट्रिय टिम सदस्य हुन् ।
तर लिग जिताएका खेलाडीबाट सोही अनुसारको प्रदर्शन नहुदाँ मनाङ जित विहिन बन्यो ।
फुटबल जानकार संजिब मिश्र मनाङको खेलाडीमा जोस जाँगर कमी देखिएको बताउँछन् ।
‘लिगको समयमा मनाङको टिमको जुन जोस जाँगर र लय थियो, त्यो एफसी कपमा देखिएन । मनाङ लगातार खेलमा पछाडी पर्नुको कारण यही हो ।’ उनी भन्छन् ।
‘लिगकै जस्तो प्रर्दशन देखिए, मनाङको एएफसी कपमा सम्भावना थियो । सुरुवाती दुवै खेल हार्दा मनाङ अत्तालिएको जस्तो पनि देखियो ।’ उनले थपे ।
हुन त मनाङले एएफसी कप अगाडी लिग जिताएका प्रशिक्षकलाई टिमबाट हटाएको थियो । मनाङ १२ खेलमा ११ जित सहित लिग च्याम्पियन बनेको थियो । लिगमा ७ गोल खाएको मनाङले २३ गोल गर्दै ३६ अंक जोडेको थियो ।
क्लबलाई कीर्तिमानी आठौं पटक लिग जिताउने मुख्य रणनीतिकार विदेशी प्रशिक्षक तोपे फुजा सहित सुमन श्रेष्ठलाई मनाङले एएफसी कपको सुरुवातमै टिमबाट हटायो ।
लिगपछि मनाङको मोफसलको यात्रा समेत सोचे जस्तो रहेन । एएफसी कप अगाडी मनाङले पुर्व प्रशिक्षक तथा अध्यक्ष छिरिङ लोप्साङलाई टिमको जिम्मेवारी दियो । तर मनाङको प्रशिक्षकको भुमिकामा फर्किएका लोप्साङले एएफसी कपमा टिमलाई एक जित पनि दिलाउन सकेनन् ।
करिब ६ महिना टिमको नेतृत्व गरेका फुजाको कमी मनाङको खेलमा प्रत्यक्ष देखिन्थ्यो । सोही कारण खेलाडीबीच राम्रो तालमेल मिल्न सकेन ।
एएफसी कपका लागि क्लबमा अनुबन्धन गरिएका नयाँ खेलाडीको सहि सदुपयोग समेत छिरिङले गर्न सकेनन् ।
लिगको समापनसंगै मनाङ क्लबको नेतृत्वमा परिवर्तन भएको थियो । त्यसको प्रत्यक्ष प्रभाव क्लबमा समेत पर्यो । क्लबले आफ्नै समुदायका छिरिङलाई क्लबमा अवसर दिने निर्णय ग¥यो । लगत्तै क्लबले एएफसी कप खेल्नुपर्ने थियो ।
हतार हतारमा सुरुमा एएफसीमा खेलाडी, मुख्य प्रशिक्षक, फिजियो र म्यानेजरको नामावली मात्र पठाईएको थियो । तर टिम तयारीका लागि कम्तिमा पनि ६–७ जना प्राविधिक टिम चाहिने हुन्छ । त्यो मनाङलाई उपलब्ध भएन । उसलाई गोलकिपर प्रशिक्षकको समेत अभाव रह्यो ।
टिमको नतिजा नआउनुमा प्राविधिक पक्ष बलियो नभएको प्रशिक्षक छिरिङ पनि स्विकार गर्छन ।
‘हामीलाई प्राविधिक पक्षमै समस्या भयो । अन्य टिममा ७–८ जना प्राविधिक हुन्छन् । हाम्रोमा त्यो भएन ।’ उनी भन्छन् ।
फुटबल बिश्लेषक सञ्जिब समेत क्लबमा नयाँ कार्यसमिति आएर काम गर्दा मनाङलाई गाह्रो भएको मान्छन् ।
‘नयाँ टिम आए लगत्तै ठुला प्रतियोगिता खेल्दा केही गाह्रो हुन्छ । तर नयाँ आएको टिमले पनि काम गरेकै हो । आखिर खेल्ने त खेलाडीले हो । त्यसैले धेरै समस्या नहुन पर्ने हो ।’ उनी भन्छन् ।
‘नेपालमा पनि अन्य देशमा जस्तै सहायक कोच, गोलकिपर कोचको ब्यवस्था लागु भैसकेको छ । यस्तो अवस्थामा मनाङले नराख्दा केहि समस्या त आईहाल्छ ।’ मिश्रको भनाई छ ।
विदेशी खेलाडीले राम्रो खेल्न नसक्दा समेत मनाङले एएफसी कपमा राम्रो नतिजा निकाल्न सकेन ।
लिगमा खेलाडीले गरेको प्रदर्शन आधारमा मनाङले अन्य विदेशी खेलाडीको बिषयमा समेत धेरै सोचेन । तर एएफसी कपमा विदेशी खेलाडीको प्रर्दशन निराशाजनक रह्यो ।
मनाङले एएफसी कपको लागि लिग खेलेका ओलावाले, सोमिडे, मोहमद आसिफ सहित नयाँ खेलाडीमा शाहिद अजिजलाई टिममा समावेश गरेको थियो ।
आफिज तीन खेल खेलेर फर्किएका थिए ।
साउथ एसियन खेलाडीको स्तर प्राय समाननै हुन्छ । तर टिम बलियो बनाउन सबै विदेशी खेलाडीनै भर पर्ने हो । तर मनाङले भने विदेशी खेलाडीबाट अन्तिम खेलबाहेक अरु खेलमा सोचेअनुरुप प्रदर्शन पाउन सकेन ।
मनाङ प्रशिक्षक छिरिङ भन्छन् ‘विदेशी खेलाडीबाट जुन आशा गरेका थियौ, त्यो हुन सकेन । यसले गर्दा पनि हामीले सोचे अनुरुप नतिजा दिन सकेनौ ।’
‘अरु टिमले ल्याएका विदेशी र मनाङमा रहेका विदेशी खेलाडीमा धेरै भिन्नता छ । समग्रमा नेपाली फुटबल क्लबले अन्य टिमको जस्तो विदेशी खेलाडी भित्राउन सक्ने अवस्था छैन । त्यसैले पनि हामी पछाडी परेका हौ ।’ उनले भने ।
फुटबल बिश्लेष मिश्र समेत विदेशी खेलाडीबाट सोचे अनुरुप प्रदर्शन आउन नसकेको बताउँछन् ।
‘हामीले नेपाली क्लबसँग खेल्दा विदेशी खेलाडीबाट जस्तो अपेक्षा गछौ । त्यो विदेशी टिमसंग खेल्दा हुदैन । जस्तो लिग छ, सोही अनुसारको खेलाडी आउने हो । नेपालको लिगमा राम्रो देखिने विदेशी खेलाडी अन्य देशको तुलानामा धेरै कमजोर हुन्छन् । हाम्रो क्लबको तुलनामा अरु देशका क्लबका विदेशी खेलाडी धेरै बलिया हुन्छन् ।’ सञ्जिव यसै भन्छन् ।