एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई जितका लागि २६३ रनको मध्यम लक्ष्य दिएको छ ।
साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनायो ।
बंगलादेशका लागि मुशफिकर रहिम र शकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहिमले ८३ रन जोड्दा हसनले ५१ रन बनाए ।
यस्तै तामिम इकबालले ३६, मोसाडेक होसेनले ३५ तथा ममुदउल्लाहले २७ रन जोडे ।
अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए । गुल्बादीन नाइबले २ विकेट लिए ।
द रोजबल क्रिकेट मैदानमा बंगलादेश जित निकाल्दै शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ ।
बंगलादेशलाई सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । तर, स्पिन बलरलाई फाइदा पुग्ने मैदानमा बंगलादेशलाई अफगानिस्तानले चुनौती दिन सक्नेछ । त्यसैले रशिद खान जस्ता स्तरिय स्पिनर भएको अफगानिस्तानसँग बंगलादेश केहि शतर्क भएर खेल्नेछ ।
यता, अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ । अफगानिस्तान जारी विश्वकपमा जितविहीन एक्लो टिम हो । अफगानिस्तान प्रतियोगिताबाट बाहिरीसकेको छ ।
६ खेलमा पराजय व्यहोरीसकेको अफगानिस्तान बंगलादेशलाई हराएर विश्वकपमा पहिलो जित निकाल्न चाहन्छ ।