काठमाडौँ । सामान्यतया क्रिकेट खेलाडी बन्न के गर्नु पर्ला ?
ब्याट, बल र आवश्यक सामानको झोला बोकेर कुनै एकेडेमी गएर सिक्न जरुरी छ ।
सायद सबैले भन्ने उत्तर यही होला ।
मलाई पनि यस्तै लाग्थ्यो, तर अब लाग्दैन । किनकि मैले पप्पुलाई अर्थात ललितनारायण राजवंशीलाई भेटेको छु ।
सामान्य परिवरमा हुर्केका ललित नारायण राजवंशी सानै देखि क्रिकेट हेर्दा रहेछन् । काका, फुपाजु लगायत अन्य सदस्य पनि खेलप्रेमी रहेका कारण घरमा क्रिकेटमा माहोल हुने भैहाल्यो । विराटनगरमा हुर्किएका उनलाई क्रिकेट खेल्ने स्थानको कमी त भएन तर खेल्ने सामाग्रीको अभाव सधै हुने गर्दथ्यो ।
पत्यार नलाग्ला, ललित पहिले फास्ट बलिङ गर्थे ।
सानै उमेरमा गाउँका क्रिकेट खेल्दा उनी टिमका मुख्य खेलाडी हुन्थे । जुन दिन उनी अनुपस्थित हुन्थे, गाउँको टिम अन्यत्र गएर खेल्ने हिम्मत गर्दैनथ्यो ।
उमेरले उनी करिब १०–११ बर्षका हुदाँ हुन् । तर गाउँमा उनको छुट्टै शान हुन्थ्यो, मान चल्थ्यो । सिनियर उनका पछि हुन्थे, टिमका मुख्य खेलाडी उनै हुन्थे । पत्याउन गाह्रो तर यथार्थ यही थियो । वास्तविक नाम ललित भएपनि उनी गाउँमा सबैको पप्पु थिए । सबैले उनलाई मायाले पप्पु भनेर बोलाउथे ।
ललितको क्रिकेट मोह उत्कर्ष उन्मुख थियो । जब उनी कलेज पढ्ने भए, उनको क्रिकेट जिवनले समेत माध्यमिक तह पास गरेको थियो । कलेज पढ्दा उनले पहिलो पटक ‘डिउज’ बलले बलिङ गरे ।
उनी सुरुवातमा फास्ट बलिङ गर्थे । बलिङको तिब्रता कम देखेर उनलाई सिनियरले स्पिन बलिङ गर्न सुझाए । उनले अब स्पिन बलिङ गर्न थाले । सुरुवातका केही समय लय समात्न मुस्किल भयो ।
‘साथीहरुले फास्ट बलिङनै राम्रो छ । स्पिन छाड्दे भन्न थाले ।’ ललित सम्झिन्छन् । उनलाई साथीको कुराले थप चुनौती थप्यो । उनले मेहनत गर्दै गए । समाकालिन नेपाली क्रिकेटमा उनले प्राप्त गरेको नजिता त्यसैको परिणाम न हो ।
उनले कहिल्यै क्रिकेट एकेडेमीमा खेल्न पाएनन् । गाउँ, घर, स्कुल, कलेजमा खेल्दै गर्दा उनले क्रिकेटमै जिवन बिताउने निर्णय लिएका थिए । खासमा ललितका बुवा फुटबल खेल्थे । सबैले बुवाको खेलको प्रशंसा गर्दा उनी गमक्क पर्थे । खेलमा लागेर कुनै प्रगति नदेखेपछि बुवा समेत ललितलाई खेलमा नलाग्न सुझाव दिन्थे ।
‘खेलेर कसले पो के गर्न सकेको छ र ?’ बुवा प्रश्न गर्ने ।
‘हेर्दै जानु न म के गर्छु । अरुले के गरे मलाई थाहा छैन, तर मलाई आफुमा विश्वास छ ।’ ललित जवाफ फर्काउथे ।
क्रिकेट खेलेकै कारण उनले बुवाको थुप्रै पिटाई खाएका छन् । घरमा कामबाट फुर्सद निकाल्दै उनी आमा बुवाको आखाँ छलेर क्रिकेट खेल्न जान्थे ।
दिनभर क्रिकेट खेल्दा ज्यान थाकेर लत्याक लुतुक्क हुन्थ्यो । भोगले पेट चाम्रिएको हुन्थ्यो । घर फर्कदा बुवाको गाली तयार हुन्थ्यो । ललितको चिन्ता आमालाई नहुने भने हैन ।
‘जहाँ गए पनि भोकै नबस्नु ।’ आमाको करुणा बोल्थ्यो ।
एक दिन क्रिकेट खेल्न भनेर घरबाट निस्केका उनी केही पर फुपुको गाउँ गए, तीन दिनसम्म घर फर्र्किएनन् । जब घर फर्किए, बुवाको नराम्रो पिटाई भेटे ।
‘लट्ठीले नराम्रो पिटाइ खाएको थिए । गल्ती मेरो नै थियो, खुबै पिटाइ खाए । बुवा थाकेर जानु भयो, अनि आमा आएर फकाउनु भयो ।’ ललित सम्झन्छन् ।
ललित कलेज पढ्ने बेला अम्पायरिङ गर्थे । उनले विराटनगरमा जेरो लेभल कोर्सको तालिम लिएका थिए । क्रिकेटमै जिवन बिताउने लक्ष्य अनुसार उनले अम्पायरिङमा हात हालेका थिए । खेलका दौरान उनले बुद्वि प्रधानसंग काम गर्ने मौका पाए । कलिलो उमेरमा ललितले अम्पायरिङ गरेको देखेका प्रधानले तत्काल खेलाडी जिवननै अगाडी बढाउन सुझाए ।
प्रधानको कुरा ललितलाई समेत सहि लाग्यो । कम्तिमा एक पटक राष्ट्रिय टिमबाट खेल्ने उनले अठोट कसे । बिहानको कलेज सकेर उनी क्रिकेट खेल्न रंगशाला पुग्थे । खेल हेर्थे, सिक्न कोशिश गर्थे । कहिले काँही खेल्ने मौका समेत पाउथे । तर फिल्डरको भुमिकामा मात्र ।
खेल्न पाए खेल्ने, नपाए अम्पायरिङ गर्ने उनको दैनिकी थियो ।
सिनियरहरु अभ्यास गरिरहेको समय ललित समेत नजिक जान्थे । बलिङमा अभ्यास गर्थे । बिस्तारै सिनियरसंग सम्बन्ध राम्रो बन्दै गयो । कडा मेहनत र लगनशिलता देखेर सिनियरहरुले उनलाई केही स्थानीय प्रतियोगिता खेल्ने अवसर दिए । बिराटनगरको पुर्वाञ्चल क्रिकेट क्लबबाट उनले जनकपुरमा खेले । प्रर्दशन राम्रै गरे ।
सन् २०१५ मा भएको राष्ट्रिय खेलकुदमा उनी क्षेत्र नम्बर एक विराटनगरबाट छनोट भए । महबुब आलम नेतृत्वको टिममा उनले पहिलो बलमै विकेट लिन सफल भएका थिए । आर्मीविरुद्वको खेलमा उनले नरेश बुढाऐरको विकेट चट्काएका थिए । उनले प्रतियोगिताका ४ खेलमा १० विकेट हात पारे ।
लगत्तै उनी यु–१९ को क्याम्पमा बोलाईए । पहिलो पटक क्याम्पमा परेका उनी यु–१९ राष्ट्रिय टिममा अटाउन सफल भए र एलिट कप खेल्न मलेसिया गए । सुशील कँडेल, प्रेम तामाङ जस्ता खेलाडी रहेका कारण उनले धेरै मौका पाएनन् । मात्र एक खेलमा मैदान उत्रिए । प्रतियोगिता जित्दै नेपाली टिम घर फर्किएको थियो ।
लगत्तै यु–१९ विश्वकप छनोटको बन्द प्रशिक्षण सुरु भयो । यसपटक विभिन्न जिल्लाबाट खेलाडी बोलाईएको थियो । सन्दिप लामिछाने, कमल सिंह ऐरीसंग उनको भेट क्याम्पमै भयो । विश्वकप छनोट खेल्ने नेपाली यु–१९ टोलीमा ललित समावेश भए तर सन्दीप पर्न सकेनन् ।
छनोट प्रतियोगितामा च्याम्पियन हुँदै नेपालले विश्वकप खेल्ने तय गरेको भयो । फाइनल खेलमा आयरल्याण्डलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । त्यो खेलको नायक उनै ललित राजवंशी बनेका थिए । सो खेलमा उनी म्यान अफ द म्याच घोषित भएका थिए ।
यु–१९ विश्वकप खेल्ने तय भएको नेपालले निकै ढिला तयारी सुरु गर्यो । बन्द प्रशिक्षणमा सन्दीपले राम्रो प्रर्दशन गर्दा ललित टिम बाहिर परे ।
छनोटको फाइनलमा म्यान अफ द म्याच बनेका ललित विश्वकपमा सहभागी हुने धेरैको अपेक्षा थियो । तर यसो हुन सकेन । उनले यु–१९ विश्वकप टिभीमा हेरेर बिताए ।
टिममा नपर्दा अन्य खेलाडी निराश थिए तर आफुले गरेको मेहनतले नेपाल विश्वकप खेल्दै गर्दा ललित भने खुसीनै देखिए ।
विश्वकपमा राम्रो प्रदर्शन गर्दै स्वदेश फर्किएका नेपाली खेलाडीलाई विभागीय टिमले अनुबन्धन गर्न थाले । छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका ललितले विश्वकप त खेल्न पाएनन् । तर उनको प्रतिभाबारे विभागीय टिम पुलिस जानकार थियो । ललितलाई तुरुन्त अनुबन्धन गर्यो र स्थायी नियुक्ती हातमा थमाईदियो ।
अब पालो यु–१९ एसिया कपको थियो । क्याम्पमा राम्रो प्रर्दशन गरेपनि विकेट लिन नसक्दा ललितले एसिया कप गुमाउन पुगे । विश्वकप खेल्ने टोलीमा नपरेर दुखी नभएका ललितले यसपटक भने त्रिवि मैदानमा आँशुनै झारे ।
अनि हरेक २ बर्षमा हुने विश्वकपमा छनोट खेल्न उनी सिंगापुर भ्रमणमा जाने मौका पाए । नेपाली टोलीमा राम्रो स्पिनर रहेका कारण उनले एक खेल मात्र खेल्ने मौका पाए । नेपाल विश्वकपमा छनोट हुन असफल रह्यो ।
छनोट प्रतियोगितापछि उनी यु–१९ टोलीमा पर्न छाडे ।
उनले बुझेका थिए, मेहनतले पुगिरहेको थिएन । अब उनले उमेर समुहको प्रतियोगिता छाडेर राष्ट्रिय टिममा समावेश हुने लक्ष्य राखे ।
२०७३ सालमा सातौ राष्ट्रिय खेलकुद हुदै थियो । त्यसअघि पहिलो पटक धनगढी प्रिमियर लिगको अक्सन हुने भयो । ललितले आफ्नै खर्चबाट १५ सय रुपैया खर्चेर फारम भरे । डीपीएलको अक्सनमा टिम धनगडी चौराहाले उनलाई ३५ हजारमा बोली लगायो ।
पहिलो पटक पारस खड्काको नेतृत्वमा खेलेका ललितले ८ खलेमा १२ विकेट हात पर्दै सर्वाधिक विकेट लिने शीर्ष ५ खेलाडीभित्र अटाउन सफल रहे । सुरुवाती २ खेलमा हार ब्यहोरेको धनगडी गर या मर को अवस्थामा थियो । रुपन्देही च्यालेंन्जर्सविरुद्व ललितले उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफको सम्भाबना कायम राखेका थिए । सो खेलमा ४ ओभर बलिङ गर्दै उनले २ मेडन ओभर सहित ५ रन खर्चेर ४ विकेट हात पारेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।
सो खेलपछि उनले घरेलु क्रिकेट प्रतियोगितामा कहिल्यै पछाडी फर्केर हेर्न परेन । हालसम्म उनी घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनको प्रर्दशनलाई हेर्दै सन् २०१८ मा भएको विश्वकप छनोट खेलमा पहिलो पटक ललितलाई समावेस गरिएको थियो ।
‘क्याम्पमा नबसेर राष्ट्रिय टिममा बेलाईनु सायद शक्ति दाईको विकल्पको रुपमा हुनपर्छ । राष्ट्रिय टिमबाट खेल्छु भन्ने थियो । तर यति धेरै छिटो स्थान पाउछु भन्ने सोचेको थिएन ।’ उनी सम्झिन्छन् ।
ऐतिहासिक विश्वकप छनोट खेल्ने टिममा अटाएका ललितले जिम्बाबेबिरुद्वको खेलमा डेब्युको अवसर पाएका थिए । टेष्ट राष्ट्रविरुद्व मैदान उत्रदै गर्दा ललित केही नर्भस भएको सुनाउँछन् । सो खेलमा ललितले इर्भिनको विकेट लिएका थिए । इर्भिन उनै हुन जसले भारतविरुद्व शतक प्रहार गरेका थिए ।
सोही प्रतियोगिता खेलेर नेपालले ऐतिहासिक एक दिवसीय मान्यता पाएको थियो । ललित त्यही ऐतिहासिक सफलताका एक कडी हुन् । राष्ट्रिय टिममा डेब्यु गरेपछि उनी निरन्तर टिममा स्थान बनाउदै आएका छन् ।
हालै काठमाडौंमा सकिएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत ललित चम्किए । उनी प्लेयर अफ दी सिरिज घोषित भए । उनले ६ खेलमा २ दशमलब ८९ को इकोनोमीमा २० विकेट हात पारेका थिए ।
एक समय विकेट लिन नसकेर बन्द प्रशिक्षणबाट फालिएका ललित अहिले भने घरेलु क्रिकेटमा विकेट लिने बलरको रुपमा परिचय बदल्दैछन् ।
ललितको क्रिकेट करियरको उडान निरन्तर उक्लिदो छ । यो उडानको तत्काल अवतरण हुने छाँटकाट देखिदैन । पप्पु अर्थात ललित यही उडानमा मस्त छन् ।