सबैभन्दा पहिला केही वर्ष अगाडिको एउटा घटना, जति बेला मउरिस्यो सारी नेपोलीका प्रशिक्षक थिए । उनको जन्म नेपल्समै भएको थियो, त्यसैले उनी जन्मजात नेपोलीकै समर्थक पनि थिए । त्यसैपनि इटालीको फुटबलमा नेपोली र युभेन्ट्सबीच जबरदस्त प्रतिद्वन्द्वीता छ । यी दुई शत्रु क्लब हुन भन्दा हुन्छ । भौगोलिक रूपमा पनि टुरिन एक कुनामा पर्छ, नेपल्स अर्को कुनामा । डिएगो म्याराडोनाले नेपोलीबाट खेल्दा नै यी दुई क्लबको वैमनस्यता थियो ।
सारीले सन् २०१५ देखि २०१८ सम्म नेपोली सम्हाले । त्यति बेला पनि नेपोली र युभेन्ट्सको यही प्रतिद्वन्द्वीता सीमाको हदसम्म पुगेको थियो । त्यही बेला त हो, सारीले युभेन्ट्सका समर्थकलाई रिसमा माझी औंला देखाएको । रिस थाम्न नसकेपछि सारीले यत्तिको नचाहिंदो काम पनि गरे । अहिले यिनै सारी युभेन्ट्सतिर लागेका छन्, प्रशिक्षक हुन । के यस्तो पनि सम्भव हुन्छ र ? सामान्यतः यो इटालीको फुटबल हुनै नसक्ने हो, भएका पनि छैनन् ।
इटालीमा फुटबललाई लिएर के उखान जस्तै छ भने त्यहाँका मान्छेले एकपल्ट कुनै क्लबको समर्थन गरेपछि त्यसको अन्त्य मृत्युसँगै कफिनमा पुगेपछि मात्र हुन्छ । नत्र उसको समर्थन एक इन्च दाँया पनि हुन्न, बाँया पनि हुन्न । अब यी सारीलाई के भएको होला त ? नेपोलीको समर्थक, नेपोलीकै प्रशिक्षक भइसकेको मान्छे युभेन्ट्समा ? सारीले युभेन्ट्सको जिम्मा लिने निश्चित भएपछि नेपोलीको समर्थकले उनलाई गद्दारको संज्ञा दिएका छन् ।
नेपल्समा रहेको स्टाडियो सान पाओलोबाट सारीसँग जोडिएका जति पनि सम्झना छन्, नेपोलीका समर्थकले ती सबै हटाइसकेका छन् । यता सारी आफै के भनिरहेका छन् भने उनको पहिलो काम युभेन्ट्सका समर्थकको मन जित्नु गाह्रो हुनेछ । आखिरमा आफुले माझी औंला देखाएका समर्थकको मन जित्न कहाँ सजिलो हुनेछ र ? अबको सिजन सारीको नेतृत्वमा युभेन्ट्सले सिरी ए मा कसरी खेल्छ, युरोपेली च्याम्पियन्स लिगमा कस्तो चुनौती पेस गर्छ, ती सबै भविष्यकै कुरा भए ।
उही एउटा प्रश्न भने तड्कारो ढंगले उठेको छ, कसरी पो सारी युभेन्ट्स जान सकेका होलान । सबैभन्दा पहिलो उनीबारे केही पृष्ठभूमि । सारीलाई फुटबल जत्तिकै केही प्यारो छ भने त्यो चुरोट हो । उनी चुरोटका नामी अम्मली हुन् र उनलाई केही गर्न छुट दिइयो भने सम्भवतः उनी फुटबल खेलकै क्रममा चुरोट खान्थे होला, त्यो पनि रंगशालामै । उनीबारे सुनिने एउटा हल्ला के भने उनकै लागि भनेर कुनै एक खास स्टेडियममा ‘स्मोकिङ जोन’ बनाइएको थियो ।
इटालीमा सबैले कुनै न कुनै बेला फुटबल खेलेकै हुन्छन्, सारीको खेलाडी जीवन भन्नु पनि यत्तिकै मात्र हो, उनले कहिले पनि व्यवसायिक फुटबल खेलेनन् । खासमा उनी सफल बैंकर हुन् । फुटबलमा आफ्नाे केही नहुने देखेपछि बैंकको जागिरतिर लागे । बैंकको उनको जागिरी एक प्रकारले सफल पनि रह्यो, तर उनी फुटबलका कीरा न थिए, काम बैंकमा हुन्थ्यो, मन फुटबलमा । सन् २००५ मा आखिरमा उनले आफ्नो जीवनलाई लिएर जोखिम मोडिहाले, बैंकको जागिर छाडेर पेसकारामा प्रशिक्षकको जीवन सुरु गरे ।
उनको खास गन्तब्य त नेपोली नै थियो, उनी अन्ततः त्यहाँसम्म पुग्न पनि सफल रहे । पछि चेल्सीमा मौका पाए । आफ्नो प्रशिक्षकको खेल जीवनमा केही पनि उपाधि जित्न नसकेका सारीले पछिल्लो सिजनमात्र युरोपाकप जिते । उनले जितेको यो नै पहिलो र अहिलेसम्मको अन्तिम ठूलो उपाधि पनि हो । तर पनि उनी चेल्सीमै रहन चाहेनन । यसका केही खास खास कारण छन् । पहिलो कारण, चेल्सीबाट नयाँ खेलाडी किन्न प्रतिबन्ध जस्तै छ ।
त्यसैले उनले टिमलाई राम्रो बनाउन सकिरहेका थिएनन् । ठीक यही बेला एडेन हेजार्डले चेल्सी छाडे । फेरि चेल्सीमा उनी खासै लोकप्रिय पनि रहेनन, विशेषत क्लबका समर्थकममाझ । यस्तो स्थितिमा उनलाई लन्डनमै बस्नु ठीक लागेन् । यसैबीच उनले भित्रभित्रै युभेन्ट्ससँग कुरा चलाइरहेका थिए । युभेन्ट्स पनि बाध्य थियो, मासिमिलिनो एलेग्रेले टिम छाड्ने भएपछि । र, यहीं सम्भव भयो, फुटबलका एउटा यस्तो गठबन्धन, जसलाई पछिसम्म पनि विश्व फुटबलमा निको मानिने छैन ।
उनले यस्तो कसरी गर्न सकेको होला त ? उनलाई एउटा लोभ त क्रिस्टियानो रोनाल्डोको प्रशिक्षक हुनु थियो । उनले त्यो मौका गुमाउन चाहेनन् । तर यो भन्दा पनि ठूलो अर्को कारण पनि छ । फेरि पुराना दिन सम्झौं न । उनी बैकर थिए, नाफा घाटा र वासलातमा टिकेर हिसाब किताब गर्थे । यस्ता हिसाबमा पैसा मुख्य र निर्णायक तत्व हो, मनको भावना होइन । बैंकले कसैलाई भावनात्मक रूपमा के भयो र हुनेछ भनेर हेर्दैन् ।
सारीले यसपल्ट यही गरे, आफु बैंकर छँदा जे गर्थे, अहिले फुटबल प्रशिक्षक हुँदा पनि त्यही काम गरे, त्यसो भनेको नेपोलीको समर्थक रहेर पनि, त्यही क्लबको प्रशिक्षक भइसकेर पनि युभेन्ट्सतिर लागे । इटालीमा फ्रान्सिस्को टोटी जस्ता मान्छे पनि छन्, जसलाई रोमा छोड्नु पर्दा आफ्नै बुबा मरे जस्तै हुन्छ । अर्कोतर्फ यी सारी छन्, जसले युभेन्ट्सको जिम्मा लिन आफ्नो पुरानो पृष्ठभूमि बिर्से । युभेन्ट्समा जत्तिकै सफल भएपनि सारीबारे फुटबल इतिहासमा राम्रो लेखिने छैन कि ?