एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ ।
लिड्समा हुने खेलमा उपाधि दाबेदार तथा आयोजक इंग्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।
हेडीङलेमा हुने खेलका दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै शीर्ष चारको सम्भावना बलियो बनाउन चाहन्छ ।
तुलनात्मक रुपमा बलियो टिम इंग्ल्याण्ड पाँचौ जितको खोजीमा हुनेछ । इंग्ल्याण्डले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको इंग्ल्याण्ड श्रीलंकालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, इंग्ल्याण्ड श्रीलंकासँग शतर्क भएर खेल्नेछ ।
श्रीलंका भने इंग्ल्याण्डलाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ । जसको लागि श्रीलंका बलियो इंग्ल्याण्डविरुद्ध जादुमय प्रदर्शन गर्न चाहन्छ ।
श्रीलंकाले ५ खेलबाट ४ अंक जोडेको छ । श्रीलंकाले १ जित निकाल्दा २ हार र २ खेल बराबरी खेलेको छ । शीर्ष चारको सम्भावना जीवित राख्न श्रीलंकालाई इंग्ल्याण्डविरुद्ध जितको विकल्प छैन ।
दुई टिमबीचको पछिल्लो पाँच भेटमा इंग्ल्याण्डले ३ खेल जितेको छ । एक खेल श्रीलंकाले जितेको छ भने एक खेल रद्द भएको छ ।