एजेन्सी । अष्ट्रेलिया इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहिबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
इंग्ल्याण्डको नटिङघममा अष्ट्रेलियाले दिएको ३ सय ८२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका मुस्फिकर रहिमले शतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् । अविजित रहेका उनले १०२ रन बनाए ।
यस्तै ममुदउल्लाहले ६९ तथा तमिम इकबालले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै शकिब अल हसनले ४१ रन बनाउँदा लिटोन दासले २० रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क, मार्कुस स्टोनिस र नेइल कल्टरले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ८१ रन बनाएको छ ।
अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले । १ सय ४७ बलको सामना गरेका वार्नरले ५ छक्का र १४ चौकाको मद्दतमा १ सय ६६ रन बनाए ।
यस्तै उस्मान ख्वाजाले ८९ रन जोड्दा ओपनर तथा कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेलले ३२ रन बनाए । बंगलादेशका सौम्या सरकार ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट हात पारे ।
जितसंगै शीर्ष स्थानमा उक्लिएको अष्ट्रेलियाले ६ खेलबाट ५ जित र १ हारसहित १० अंक जोडेको छ ।
पाँचौ स्थानको बंगलादेशको यो तेस्रो हार हो । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ ।