एजेन्सी । भारतीय ओपनर ब्याट्सम्यान शिखर धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका सबै खेल गुमाउने भएका छन् ।
गत साता अष्ट्रेलियाविरुद्धको खेलमा चोट बोकेपछि धवनले विश्वकप गुमाउने भएका हुन् । यसअघि धवन तीन सातापछि मैदान फर्कने बताईएको थियो ।
तर, धवनको चोट ठिक हुन कम्तिमा जुलाईको मध्यसम्म लाग्ने भएको छ । जसको कारण उनले विश्वकप गुमाउने भएका हुन् ।
धवनको स्थानमा विकेट किपर ब्याट्सम्यान ऋषब पन्तलाई टिममा राखिएको छ ।
अष्ट्रेलियाविरुद्धको खेलमा धवनले बुढी औंलाको चोट बोकेका थिए । उनको बुढी औंलाको हड्डी फ्याक्चर भएको बताईएको छ । जुन खेलमा धवनले ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।
अष्ट्रेलियासँगको खेलमा चोट बोकेपछि धवनले विश्वकप अन्तर्गत पाकिस्तान, अफगानिस्तान र वेष्ट इण्डिजसँगको खेल गुमाएका थिए ।