काठमाडौं । साफ अन्डर १५ फुटबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसंग प्रतिस्पर्धा गर्ने भएको छ । शनिबार सार्वजनीक गरिएको खेल तालिका अनुसार नेपालले आगामी अगष्ट ११ मा पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको हो ।
त्यस्तै नेपालले समुह चरणको अन्तिम खेलमा अगष्ट १३ मा बंगलादेशसंग खेल्नेछ ।
साफ अन्डर १५ प्रतियोगिता भुटानको थिम्पुमा अगष्ट ९ मा सुरु हुदैछ । १० दिन सम्म चल्ने प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियागितामा नेपाल समुह बीमा परेको छ ।
नेपाल रहेको समुहमा बंगलादेश र पाकिस्तान छन् । त्यस्तै समुह एमा इन्डिया, भुटान र श्रीलंका छन् ।
समुह चरणको शीर्ष दुई टोलीले सेमिफाईनलमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताका सबै खेल थिम्पुस्थित चलिमिथाङ रंगशालामा हुनेछ ।