एजेन्सी । इंग्ल्याण्डले घरेलु मैदानमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई जितका लागि ३९८ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो । इंग्ल्याण्डले बनाएको यो स्कोर जारी विश्वकपकै सर्वाधिक ठुलो स्कोर हो ।
इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेको मोर्गनले ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले । जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो ।
यस्तै जोय रुट र जोनी बेरस्टोले अर्धशतक बनाए । रुटले ८८ रन बनाउँदा बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनायो ।
अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले ३/३ विकेट लिए ।
आज इंग्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्याण्डको ६ अंक रहेको छ ।
चौंथो स्थानमा रहेको इंग्ल्याण्ड अफगानिस्तानलाई हराउँदै शीर्ष स्थानको अष्ट्रेलियासंग अंक बराबरी गर्न चाहन्छ । तर, पहिलो जितको खोजीमा अफगानिस्तानसंग इंग्ल्याण्ड सतर्क रहने छ ।
जारी विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम हो । ४ खेलमा अफगानिस्तानले ४ खेल गुमाएको छ । तर, इंग्ल्याण्डलाई हराउँदै अफगानिस्तान पहिलो जित निकाल्न चाहन्छ ।