एजेन्सी । पुर्व विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा बेलायती खेलाडी केली एडमण्डलाई पराजित गर्दै जोकोभिकले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
सेन्टर कोर्टमा भएको खेलमा १२ औं बरियताका जोकोभिकले २१ औं बरियताका एडमण्डलाई ४-६,६-३,६-२ र ६-४ ले पराजित गरे । पहिलो सेट गुमाएपनि जोकोभिकले उत्कृष्ट पुनरागमन गरेका थिए । तीन पटकको च्याम्पियन जोकोभिकले अब रुसका करेन खाचनोभसंग खेल्ने छन् ।
विम्बल्डन टेनिसको पुरुषतर्फ नै जापानका केइ निशिकोरीले पनि अन्तिम १६ मा स्थान पक्का गरेका छन् । २४ औं बरियताका निशिकोरीले अष्ट्रेलियाका १५ औं बरियता प्राप्त निक क्रिगिओसलाई पराजित गरे ।