एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले बंगलादेशलाई जितका लागि ३ सय २२ रनको फराकिलो लक्ष्य दिएको छ ।
टाउनटनमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो ।
वेष्ट इण्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान जासन होल्डरले ३३ रनको आक्रामक पाली खेल्दा क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न सकेनन् ।
निकोलस पुरनले २५ तथा डरेन ब्राभोले १९ रन बनाए।
बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३/३ विकेट हात पारे । यस्तै शाकिब अल हसन २ विकेट लिए ।
कोपर एसोसियट्स काउन्टी मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष चारको होडमा आफुलाई कायम राख्न चाहन्छ । दुवै टिम दोस्रो जितको खोजीमा रहेका छन् ।
वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । वर्षाको कारण वेष्ट इण्डिजले एक खेलमा अंक बाँडेको थियो ।
तर, वेष्ट इण्डिज पाँचौ खेलमा बंगलादेशलाई हराएर आफ्नो खराब यात्रामा पूर्णबिराम लगाउन चाहन्छ ।
यस्तै बंगलादेशले पनि ४ खेलबाट ३ अंक जोडेको छ । बंगलादेश पनि वेष्ट इण्डिजलाई हराउँदै आफुलाई सेमिफाइनलको दाबेदारको रुपमा प्रस्तुत गर्न चाहन्छ ।
बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेका छन् ।
दुईबीचको पछिल्लो पाँच भेटमा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले ४ खेलमा जित निकाल्दा वेष्ट इण्डिजले एक खेलमा मात्र जित निकालेको छ ।