एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ ।
इंग्ल्याण्डको कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनायो ।
अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक ३५ रन जोडे । यस्तै नुर अली जाड्रानले ३२ तथा हजरातउल्लाह जजाईले २२ रन बनाए ।
दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए । यस्तै क्रिस मोरिसले ३ विकेट लिए ।
सोफिया गार्डेन्समा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । जारी विश्वकपमा दुवै टिमले जित निकाल्न सकेका छैनन् ।
तुलनात्मक रुपमा बलियो दक्षिण अफ्रिका अफगानिस्तानलाई हराउँदै खराब प्रदर्शनलाई पूर्णबिराम लगाउन चाहन्छ ।
तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको दक्षिण अफ्रीकाले ४ खेलमा १ अंक जोडेको छ । ४ खेलमा ३ खेल गुमाएको दक्षिण अफ्रिकाले वर्षाले खेल प्रभावित हुँदा वेष्ट इण्डिजसंग अंक बाँडेको थियो ।
यता, पुछारको अफगानिस्तानले अंक जोड्न सकेको छैन । तर, ३ खेलमा ३ खेल गुमाएको अफगानिस्तान दक्षिण अफ्रिकालाई हराएर पहिलो अंक जोड्न चाहन्छ ।