एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ ।
इंग्ल्याण्डको लन्डनमा शनिबार हुने पहिलो खेलमा उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।
केनिङटन मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुवै टिम जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्न चाहन्छ ।
निकै बलियो टोली अष्ट्रेलिया चौंथो जित निकाल्न चाहन्छ । तर, अष्ट्रेलिया श्रीलंकासंग सजग भएर मैदान उत्रनेछ । किनकी श्रीलंकाले पनि आफुलाई उत्कृष्ट साबित गर्दै आएको छ ।
अष्ट्रेलियाले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ । अष्ट्रेलिया अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
यता, श्रीलंका विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ४ खेलमा १ जित, १ हार र २ बराबरी खेलेको श्रीलंकाको ४ अंक छ ।
श्रीलंका अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आफुलाई शीर्ष चारको दाबेदारीको रुपमा प्रस्तुत गर्न चाहन्छ ।
दुई बीचको पछिल्लो भेटमा भने अष्ट्रेलिया बलियो देखिन्छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ जित निकालेको छ । श्रीलंकाले १ खेलमा जित निकालेको छ ।