एजेन्सी । इंग्ल्याण्डले घरेलु भूमिमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ ।
साउथह्याम्पटनमा शुक्रबार भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्डले तेस्रो जित निकालेको हो ।
द रोस बल ओभलमा वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्याण्डको जितमा अलराउण्डर प्रदर्शन गरेका जोय रुटले शतकीय इनिङ्स खेले । अविजित रहेका रुटले ९४ बलमा ११ चौकासहित १०० रन बनाए । जारी विश्वकपमा रुटको यो दोस्रो शतक हो ।
योसंगै रुट एकै विश्वकपमा २ शतक प्रहार गर्ने दोस्रो इन्ग्लिश खेलाडी बने । यसअघि केभिन पिटरसनले एकै विश्वकपमा २ शतक बनाएका थिए ।
यस्तै जोनी ब्रैस्टोले ४५ तथा क्रिस वोक्सले ४० रन बनाए । बेन स्टोक्स १० रनमा अविजित रहे । वेष्ट इण्डिजका टेरी गाब्रिलले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनाएको थियो ।
खराब सुरुवात गरेको वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सिम्रन हिटमायरले ३९ रन जोड्दा क्रिस गेलले ३६ रन बनाए । आन्द्रे रुसेल २१ रनमा आउट भए ।
इंग्ल्याण्डका आर्चर जोफ्रा र मार्क उडले ३/३ विकेट लिए । त्यस्तै जोय रुटले २ विकेट लिए ।
जितसंगै इंग्ल्याण्डले ४ खेलबाट ६ अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । छैटौं स्थानको वेष्ट इण्डिजको यो दोस्रो हार हो ।