एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई जितका लागि ३०८ रनको मध्यम लक्ष्य दिएको छ ।
इंग्ल्याण्डको काउन्टी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रनमा समेटियो ।
अष्ट्रेलियाको लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेले । एक बर्षे प्रतिबन्धबाट फर्किएका वार्नरले ११ चौका र १ छक्काको मद्दतले १ सय ७ रन बनाए ।
पहिलो विकेटका लागि वार्नरले कप्तान आरोन फिन्चसंग १४६ रनको साझेदारी गरे । फिन्चले ८२ रनको अर्धशतकिय इनिङ्स खेले ।
पाकिस्तानका मोहमद आमिरले ५ विकेट हात पारे । यस्तै शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि,वहाव रियाज र मोहमद हफिजले समान १/१ विकेट हात पारे ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । अष्ट्रेलिया चौंथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ ।
अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ । अष्ट्रेलिया तेस्रो खेलमा भारतसंग ३६ रनले पराजित भएको थियो । तालिकाको चौंथो स्थानमा रहेको अष्ट्रेलिया भारतसंगको हारलाई बिर्सदै जितको यात्रा कायम गर्न चाहन्छ ।
यता, पाकिस्तान विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ । पाकिस्तान अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आफुलाई शीर्ष चारको दाबेदारीको रुपमा प्रस्तुत गर्न चाहन्छ ।