एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दुई उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डको सोमरसेटमा अष्ट्रेलियाविरुद्ध पाकिस्तानले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । अष्ट्रेलियाले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
काउन्टी ग्राउण्डमा मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टिम जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्न चाहन्छ ।
निकै बलियो अष्ट्रेलिया चौंथो खेलमा तेस्रो जित निकाल्न चाहन्छ । अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ । अष्ट्रेलिया तेस्रो खेलमा भारतसंग ३६ रनले पराजित भएको थियो । तालिकाको चौंथो स्थानमा रहेको अष्ट्रेलिया भारतसंगको हारलाई बिर्सदै जितको यात्रा कायम गर्न चाहन्छ ।
यता, पाकिस्तान विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ । पाकिस्तान अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आफुलाई शीर्ष चारको दाबेदारीको रुपमा प्रस्तुत गर्न चाहन्छ ।
दुई बीचको पछिल्लो भेटमा भने अष्ट्रेलिया बलियो देखिन्छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले शतप्रतिशत जित निकालेको छ । पाकिस्तान उक्त हारलाई पूर्णविराम लगाउन चाहन्छ ।