एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दुई उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
लण्डनमा भारतले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अष्ट्रेलियाले केहि बेरमा बलिङ थाल्नेछ ।
केनिङटन ओभलमा दुवै टोली जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा रहेका छन् । दुवै टिम जित निकाल्दै आफुलाई उपाधि दाबेदार प्रमाणित गर्न चाहन्छ ।
अघिल्ला दुई खेल जितेको अष्ट्रेलिया लगातार तेस्रो जितको योजनामा हुनेछन् । जसका लागि अष्ट्रेलिया भारतलाई शिकार बनाउन चाहन्छ ।
अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । र, तालिकाको तेस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो ।
यता, भारत लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको भारत अष्ट्रेलियालाई पनि स्तब्ध बनाउने योजनामा मैदान उत्रने छ ।
भारतले १ खेलबाट २ अंक जोडेको छ । तर, अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा भारत निकै सजग भने हुनेछ ।
दुई टोलीबीचको पछिल्ला नतिजा अष्ट्रेलियाको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा अष्ट्रेलियाले ३ खेल जितेको छ । भारतले २ खेलमा जित निकालेको छ ।
पछिल्लो तीन खेलमा अष्ट्रेलियालाई भारतले हराउन सकेको छैन ।