एजेन्सी । विश्व नम्बर दुई स्पेनिस स्टार राफायल नाडाल र सर्बियन नोभाक जोकोभिक विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा बिहिबार भएको दोस्रो चरणमा नाडालले काजकिस्तानका मिखाइल कुकुशकिनलाई ३ – ० को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा पुगेका हुन् । नाडालले कुकुशकिनमाथि ६-४,६-३ र ६-४ को सोझो सेटमा जित निकालेका हुन् ।
कुकुशकिनविरुद्ध सोझो सेटमा जित निकालेपनि खेलमा नाडाललाई रेफ्रीले पटक पटक चेतावनी दिएका थिए । कुकुशकिनसंगको खेलमा थकित देखिएका नाडाललाई ढिला खेलेको भन्दै रेफ्रीले चेतवानी दिएका हुन् । तीन पटकको विजेता नाडालले अब एलेक्स डी मिनुअरसंग खेल्ने छन् ।
यस्तै १२ औं वरियताका जोकोभिकले होरासियो जेबालोसलाई ६-१, ६-२ र ६-३ ले हराउदै तेस्रो चरणको यात्रा तय गरे । अब जोकोभिकले बेलायतका केली एडमण्डसंग खेल्ने छन् ।
महिलातर्फ विश्व नम्बर एक रोमानियाकी सिमोना हालेपले तेस्रो चरणको यात्रा तय गरेकी छिन् । दोस्रो चरणमा चीनकी साइसाई झेङलाई ७-५ र ६-० को सेटमा पराजित गरिन् । अब सिमोनाले चाइनिज ताइपेकी शु वेईसंग खेल्ने छिन् ।
बेलायती नम्बर एक महिला खेलाडी जोहन्ना कोन्टा भने प्रतियोगिताको दोस्रो चरणबाट बाहिरिएकी छिन् । दोस्रो चरणमा कोन्टा स्लोभाकियाकी डोमिनिका सिबुल्कोभासंग ६-३ र ६-४ ले पराजित भईन् ।