काठमाडौं । नेपाल ‘नीलो’ टिमले प्रथम बृहत राष्ट्रिय पारा खेलकुद अन्तर्गत राष्ट्रिय स्टेन्डिङ टी– २० क्रिकेटको उपाधि जितेको छ ।
टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘नीलो’ ले नेपाल ‘रातो’ लाई १२ रनले पराजित गर्दै उपाधि हात पारे ।
वर्षाका कारण १० ओभरमा छोटइएको खेलमा पहिले व्याटिङ गरेको नेपाल ‘नीलो’ ले पूरै १० ओभर खेल्दै ५ विकेट क्षतिमा ७८ रनको योगफल खडा गरेको थियो । जवाफमा नेपाल ‘रातो’ ले १० ओभरमा ८ विकेट गुमाउदै ६६ रन बनायो ।
नेपाल ह्वीलचेयर क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा नेपाल ‘नीलो’ का सुमन बराल ‘म्यान अफ द म्याच’ चुनिए ।
खेलमा २० रन बनाउनुका साथै २ विकेट लिएका सुमन उत्कृष्ट ब्याट्सम्यान पनि बने । नेपाल ‘रातो’ का रुपक वाइबा उत्कृष्ट बलर घोषित भए भने फिल्डिङमा नेपाल ‘नीलो’ का सुकलाल मिया उत्कृष्ट भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।