बाँके । अन्तराष्ट्रिय खेलकुद पत्रकार दिवस आज नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । खेलपत्रकार टीएस ठकुरीको संयोजनमा न्युरोडस्थित युथ सेन्टरमा वर्तमान नेपाली खेलकुदको अवस्था र सम्भावनाका बिषयमा अन्तक्रिया कार्यक्रमको आयोजना गरियो ।
स्थानीय प्रकाशक तथा सम्पादकसंगको अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापाले समग्र नेपालगन्जको खेलकुद विकासमा उपमहानगर गम्भीरतापूर्वक लागिरहेको बताइन् ।
आफु खेलकुद र खेलपत्रकारिता पृष्ठभुमिबाट आएको हुँदा दुवै विधाको विकासमा सहकार्य गर्न सदैव तत्पर रहेकोमा उनको भनाई थियो । ’मैले खेलकुद र खेलपत्रकारिताको महत्त्व राम्रोसँग बुझेकी छु ।’ उपमेयर मगरले भनिन् ’योजनासहित आउनुस, सँगसँगै काम गरौं ।’
राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले खेल पत्रकारिताबिना खेलकुद अघि बढ्न नसक्ने धारणा राखे । नेपालगन्जको खेपत्रकारिताको विकासमा आफु जहिल्यै तयार रहेको उनले बताए ।
मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले स्थानीय सञ्चारमाध्यमले खेलकुद प्रवर्द्धनमा कुनै कसर बाँकी नराखेको बताए । ’स्थानीय पत्रपत्रिका र रेडियोले हाम्रा अभियानलाई भरपुर कभरेज गरेका छन् ।’ उनले भने, ’राष्ट्रिय पत्रिकामा पनि कभरेज बढाउन आवश्यक छ ।’