एजेन्सी । रुस विश्वकप फुटबलको दोस्रो दोस्रो प्रि क्वाटरफाइनलमा आज राति उरुग्वे र पोर्चुगल प्रतिस्पर्धा गर्दै छन् ।
सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । विश्वकप उपाधि जित्ने लक्ष्य लिएका दुवैको लागि यो खेल महत्वपूर्ण पनि रहेको छ । किनकि दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र युरोपियन च्याम्पियन पोर्चुगल मध्ये एक टोली मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
यस्तोमा दुवै टोली आफ्नो सम्पूर्ण शक्ति खेलमा लगाउने छ । दुई टोलीले आफ्नो स्टार खेलाडीलाई आफ्नो हतियार बनाउने छन् । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई मुख्य खेलाडी बनाउने छ भने उरुग्वेले लुइस स्वारेजलाई मुख्य खेलाडीको रुपमा मैदान उतार्ने छन् ।
प्लेयर्स टु वाच :
लुइस स्वारेज ( उरुग्वे)
उरुग्वेको विश्वकप उपाधि यात्रा निरन्तर रहने हो भने आज अग्रपंक्तिका खेलाडी स्वारेजको भूमिका महत्वपूर्ण हुनेछ । समूह चरणको अघिल्ला तीन खेलमा ९० मिनेट नै खेलेका स्वारेजले २ गोल गरिरहेका छन् । त्यसैले स्वारेजले आफुलाई प्रमाणित गरिसकेका छन् ।
स्वारेज अहिले निकै उत्कृष्ट लयमा देखिएका छन् । क्लब फुटबलमा जमेका स्वारेज राष्ट्रिय टोलीमा समेत जमेका छन् । यस्तै पोर्चुगलविरुद्धको खेलमा स्वारेजलाई भेट्रान खेलाडी एडिनसन काभानिको पनि साथ रहने छ । स्वारेज र काभानीले आफ्नो लय कायम राखे पोर्चुगल टिमको लागि टाउको दुखाई बन्न सक्छ ।
स्वारेज व्यवसायीक रुपमा स्पेनिस ला लिगामा क्लब बार्सिलोनाबाट खेल्ने गर्छन् । ३१ वर्षिय बार्सिलोनाका स्ट्राइकर स्वारेजले यो सिजन ३३ खेल खेल्दै २५ गोल र गोलको लागि १२ पास उपलब्ध गराएका थिए । उनले च्याम्पियन्स लिगमा १० खेल खेल्दै १ गोल गरेका थिए ।
स्वारेजले स्पेनिस कोपा डेल रेको ५ खेलमा ५ गोल गरेका थिए । विश्वकप छनोट खेलमा १३ खेल खेलका स्वारेजले ५ गोल गरेका थिए । त्यसैले पोर्चुगविरुद्ध उरुग्वेलाई स्वारेजलाई मुख्य हतियार बनाउने छन् ।
क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)
दुई बर्षअघि पोर्चुगललाई युरोकप जिताएका रोनाल्डोको अबको लक्ष्य रुस विश्वकप जिताउनु हो । आफ्नो पुस्ताकै उत्कृष्ट खेलाडी रहेका रोनाल्डो आज उरुग्वेलाई हराउदै आफ्नो लक्ष्यमा अघि बढ्न चाहन्छ ।
रुस विश्वकपको समूह चरणमा गरेको प्रदर्शन दोहोराउन सके रोनाल्डोलाई लक्ष्यमा पुग्न कठिन हुनेछैन । रोनाल्डोले समूह चरणको ३ खेलमा ४ गोल गरिसकेका छन् । स्पेनिस महारथी कब् रियल मड्रिडका सुपरस्टार रोनाल्डो ३३ बर्षका भए । उनको यो विश्वकप अन्तिम विश्वकप हुनसक्छ । त्यसैले रोनाल्डो पोर्चुगललाई विश्वकप जिताउन चाहन्छ ।
स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले १३ खेल खेल्दै १५ गोल गरेका थिए । स्पेनिस ला लिगामा २७ खेल खेलेका रोनाल्डोले २६ गोल गरेका थिए ।
विश्वकप छनोटमा समेत उच्च लयमा देखिएका रोनाल्डोले ९ खेल खेल्दै १५ गोल गरेका थिए । त्यसैले रोनाल्डोलाई रोक्न आज उरुग्वेका उत्कृष्ट डिफेन्डरहरु डियगो गोडिन, जोसे गिमेनेजलाई कडा मेहेनत गर्नु पर्ने देखिन्छ ।