एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको पहिलो प्रि क्वाटरफाइनलमा आज फ्रान्स र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछ ।
कजान एरिनामा हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि यात्रा कायम राख्न चाहन्छ । दुवै टोलीको लक्ष्य रुस विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बन्नु हुनेछ ।
दुई टोलीसंग विश्वस्तरीय खेलाडीको बाहुल्यता पनि रहेको छ । यस्तोमा दुवै टोलीले आफ्ना विश्व स्तरीय खेलाडीलाई मुख्य हतियार बनाउने छन् । मुख्य त् दुई टोलीबीचको खेलमा दुई खेलाडी चर्चामा रहने छन् ।
यो खेलमा फ्रान्सका पाउल पोग्बा र अर्जेन्टिनाका लियोनल मेस्सी चर्चामा रहने छन् । यी दुई खेलाडीको प्रदर्शनको उसको टोलीको भाग्य निर्धारण हुनेछ ।
प्लेयर्स टु वाच :
पाउल पोग्बा ( फ्रान्स)
फ्रान्सको विश्वकप यात्रामा महत्वपूर्ण खेलाडी हुन् पोग्बा । मिडफिल्डमा उत्कृष्ट खेल पस्कदै फ्रान्सलाई बलियो र मजबुद स्थितिमा ल्याउन महत्वपूर्ण भुमिका पोग्बाको रहने गर्छ ।
ब्यवसायीक फुटबलको लागि इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोग्बा प्रिमियर लिगकै महँगा मिडफिल्डर हुन् । उत्कृष्ट प्लेमेकर पोग्बाले प्रिमियर लिगको यो सिजन २७ खेलमा ६ गोल गर्दै १० गोलको लागि पासको सिर्जना गरेका थिए । पोग्बाले च्याम्पियन्स लिगमा भने ५ खेल खेलेका छन् । एफए कपमा तीन खेल खेलेका पोग्बाले विश्वकप छनोटमा ७ खेल खेल्दै २ गोल गरेका थिए ।
२५ वर्षिय पोग्बा बल नियन्त्रण गर्न र गोल गर्न उत्तिकै माहिर छन् । लामा बल खेल्न र लामा सट प्रहार गर्न सफल पोग्बा अर्जेन्टिनाको लागि टाउको दुखाईको बिषय बन्न सक्छ । पोग्बा आजको खेलमा चम्किए अर्जेन्टिनालाई हराउन फ्रान्सलाई कठिन पर्ने छैन ।
लियोनल मेस्सी (अर्जेन्टिना )
मेस्सी आफ्नो पुस्ताकै उत्कृष्ट खेलाडी मानिन्छन् । तर, रुस विश्वकपमा मेस्सी र अर्जेन्टिनाको प्रदर्शन उस्तै उस्तै छ । दुवैको लक्ष्य खराब जस्तै छ ।
त्यसैले खराब प्रर्दशनबाट गुज्रिरहेको अर्जेन्टिनालाई फ्रान्सबाट उन्मुक्त गराउन आज मेस्सीले आफ्नो जादुमयी खेल देखाउन पर्नेहुन्छ । क्लब फुटबलको जादुमय प्रदर्शन गरेमा मेस्सीले आज अर्जेन्टिनालाई अघिल्लो चरणमा पुँर्याउन कुनै गाह्रो हुनेछैन ।
रुस विश्वकपको समूह चरणमा मात्र एक गोल गरेका मेस्सी अघिल्लो संस्करणको विश्वकपको गोल्डेन बुट विजेता समेत हुन् । दुवै खुट्टाले बल रोक्न सिपालु ३१ बर्षिय मेस्सी स्ट्राइकरसंगै प्लेमेकर पनि हुन् । मिडफिल्डमा उत्तिकै जम्न सक्ने मेस्सीले स्पेनिस ला लिगामा भने जादु देखाएका थिए । ला लिगाको ३६ खेल खेल्दै ३४ गोल गरेका मेस्सीले गोलको लागि १० पास उपलब्ध गराएका थिए ।
प्रतिष्ठित च्याम्पियन्स लिगको १० खेलमा ६ गोल गर्न सफल मेस्सीले विश्वकप छनोटको १० खेलमा ७ गोल गरेका थिए । समूह चरणका तीनै खेलमा ९० मिनेट मैदान बिताएका मेस्सीले आज अर्जेन्टिनाको लागि मुख्य हतियार बन्ने छन् । मेस्सीले उच्च प्रदर्शन गरे अर्जेन्टिना फ्रान्सलाई हराउदै विश्वकपको अर्को चरण पुग सक्छ ।