एजेन्सी । फिष्ट ओलम्पिक स्टेडियम सोची । अन्तिम १६ को दोस्रो खेलमा भिड्दैछन्, उरुग्वे र पोर्चुगल । सोचीको गर्मी उस्तै, कम्तिमा ३० डिग्री सेल्सियस । अनि दुई ठुला राष्ट्रबीच हुने भिडन्तको अर्को गर्मी ।
सोचीको प्राकृतिक गर्मीसंगै उरुग्वे र पोर्चुगलको भिडन्तको गर्मी अझ बढ्नेछ । नबढोस् पनि कसरी ? विश्व फुटबलकै ठुला राष्ट्रमध्येको एक टोलीको यात्रा आज सकिदै छ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र युरोपियन च्याम्पियन पोर्चुगल मध्ये एक टोली मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
दुवै टोली 'गर या मर' को स्थितिमा हुनेछन् । र, दुवैको वास्तविक भिडन्त र अग्निपरीक्षा आज हुनेछ । दुवै जितको खोजीमा हुनेछ,दुवैलाई अघिल्लो चरणको यात्रा गर्नुछ । विजेताले फ्रान्स र अर्जेन्टिनाबीचको बिजेतासंग खेल्ने छ ।
दुवै टोलीमा दुई स्टार छन्, उरुग्वेमा लुइस स्वारेज, पोर्चुगलमा क्रिस्टियानो रोनाल्डो । दुवै स्पेनिस लिग खेल्छन् तर प्रतिद्वन्द्वी भएर । बार्सिलोनाका स्वारेज र रियल मड्रिडको रोनाल्डोको टोली भिड्दै गर्दा ला लिगाको 'इएल क्लासिको' भिडन्त याद हुनेछ । यस्तोमा एक स्टारको विश्वकप यात्रा आज सकिदै छ ।
विश्वकप सजिलो समूहमा रहेको उरुग्वेले सहजै समूह चरण पार गरेको थियो । आयोजक रुस, साउदी अरेबिया र इजिप्ट रहेको समूहमा उरुग्वेलाई कुनै कठिनाई भएन् ।
पहिलो खेलमा इजिप्टलाई १ – ० ले हराएको उरुग्वेले दोस्रो खेलमा साउदी अरेबियालाई पनि १ – ० ले नै हराएको थियो । अन्तिम खेलमा रूसलाई ३ – ० ले हराएर उरुग्वे समूह बिजेता बनेको थियो । तर, पाँच पटकको बालोन डी'ओर बिजेता क्रिस्टियानो रोनाल्डोको टोलीविरुद्ध मैदान उत्रदा उरुग्वे सतर्क हुने छन् ।
रोनाल्डो निकै लयमा देखिएका छन् । त्यसैले उरुग्वेको वास्तविक भिडन्त आज हुनेछ । यो कुरा प्रशिक्षक ओस्कार ताबारेजले मानेका छन् । विश्वकप फुटबलकै पाका प्रशिक्षक बनेका ताबरेजले भन्छन् , 'रोनाल्डो विश्वकै उत्कृष्ट स्ट्राइकर हुन् । उनी बिपक्षिलाई फोकस गरेर खेल्ने गर्छन । रोनाल्डोको क्षमता छ । उनी टिमको लिडर हो । त्यसैले हामीले खेलको योजना बनाएका छौ '
उरुग्वेको मुख्य टाउको दुखाई रोनाल्डो हुनेछन् । तर, उरुग्वेलाई लुइस स्वारेज जस्ता खेलाडीको साथ रहने छन् । स्वारेजलाई साथ दिने छन् भेट्रान स्ट्राइकर एडिन्सन काभानीले । काभानी पनि खतरनाक स्ट्राइकर हुन् । जसले पोर्चुगललाई काबुमा ल्याउन सक्छन् ।
यस्तै उरुग्वेले समूह चरणमा कुनै गोल बेहोरेन । उसको डिफेन्स मजबुद छ । उरुग्वेको डिफेन्सले रोनाल्डोलाई हैरान बनाउन सक्छ । रोनाल्डो चल्न नसके पोर्चुगललाई जित निकाल्न हम्मे हम्मे पर्छ । तर, रोनाल्डोको लय कायम रहने विश्वास गरिएको छ । किनकी रोनाल्डोले पहिलो खेलमा स्पेनसंग बराबरी खेल्दा ह्याट्रिक गरेका थिए । मोरक्कोविरुद्ध निर्णायक गोल गरेका रोनाल्डो इरानविरुद्ध भने पेनाल्टीमा चुकेका थिए ।
तर, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस टिमको लक्ष्य क्वाटरफाइनल नै रहेको दाबी गर्छन् । सान्तोसले भने, 'हामी क्वाटरफाइनलमा पुग्न चाहन्छौं । प्रतिद्वन्द्वी पनि त्यहिँ चाहन्छन् । तर, हामी मैदानमा फरक हुने छौ । मलाई विश्वास छ हामी स्कोर गर्छौ । हामी तयार छौं मेरा खेलाडी तयार छ ।'
दुई टोलीबीचको हेड टु हेड इतिहासमा पोर्चुगल अघि रहेको छ । सन् १९६६ मा भएको पहिलो भेटमा पोर्चुगलले उरुग्वेलाई ३ – ० ले हराएको थियो । सन् १९९२ मा भएको दोस्रो भेटमा दुवैले १ – १ को बराबरी खेलेको थियो ।
दुई टोलीबीचको यो तेस्रो भिडन्त हो । तेस्रो भिडन्तको नतिजा भने कुर्नुपर्ने हुन्छ ।