एजेन्सी । रुस विश्वकपमा ५ एसियन राष्ट्रले सहभागिता जनाएका थिए । तर, चार राष्ट्र समूह चरणबाटै घर फर्किसकेका छन् । एसियन राष्ट्रमध्ये जापानले मात्र नकआउट चरणमा पुग्ने सम्भावना छ ।
यस्तोमा, समूह 'एच' मा रहेको जापानले आज समूह चरणको अन्तिम खेलमा पोल्याण्डसंग खेल्दैछ । पोल्याण्डविरुद्ध मैदान उत्रदा जापान एसियन राष्ट्रको खराब प्रदर्शनको छविलाई सपार्ने लक्ष्यमा हुनेछ । र, एसियाको क्षेत्रको भरोसा जापानसंग हुनेछ ।
भोल्गोग्राड स्टेडियममा पोल्याण्डविरुद्ध मैदान उत्रदा जापानको एक मात्र लक्ष्य जित हुनेछ । अहिलेकै समीकरण हेर्दा जापानलाई बराबरीले मात्रै पनि समूह चरण पार गर्न प्रयाप्त हुन्छ । तर, निकै जुझारु प्रदर्शन गरिरहेको जापान समूह विजेता बन्दै दोस्रो चरण पुग्न चाहन्छ । पोल्याण्डलाई हराएर नकआउट चरणमा पुग्न सके जापानको यो तेस्रो नकआउट चरणको यात्रा हुनेछ ।
पहिलो खेलमा कोलम्बियालाई २ – १ हराएको जापानले दोस्रो खेलमा बलियो टोली सेनेगलसँग २ – २ गोलको बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेल बाँकी रहदा जापान ४ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल गुमाईसकेको पोल्याण्ड पुछारमा छ । पोल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।
अघिल्ला खेलको नतिजामा जापान हौसिएको छ । तर, अन्तिम खेलमा जापानलाई पोल्याण्डसंग डर छ । किनकी, पोल्याण्ड जापानविरुद्ध जित निकाल्दै सान्त्वना जितसहित घर फर्कन चाहन्छ । पोल्याण्डसंग कुनै डर हुनेछैन । त्यसैले पोल्याण्डविरुद्ध जापानलाई चुनौती छ । यस्तै अन्तिम खेलमा पराजित भए जापान प्रतियोगिता बाटै बाहिरिन पनि सक्छ ।
यो समूहमा सेनेगलको ४ र कोलम्बियाको ३ अंक छ । यसै समूहका सेनेगल र कोलम्बिया पनि आज जित निकाल्दै अर्को चरणमा पुग्न चाहन्छ । त्यसैले जापान पोल्याण्डलाई हराउदै ढुक्कले विश्वकपको अर्को चरण पुग्न चाहन्छ ।
पोल्याण्डको अघिल्लो खेलको प्रदर्शनले पनि जापानी टोलीको आत्मविश्वास बढेको छ । जापानका प्रशिक्षक आकिरा निशिनो भन्छन् , 'हाम्रो मनोवल उच्च रहेको छ । त्यसैले पोल्याण्डविरुद्ध खेल्दा हामीसंग केहि आत्मबल हुनेछ ।'
यो समूह कै अर्को खेलमा सेनेगल र कोलम्बिया मैदान उत्रदा दुवै टोली जितको खोजीमा हुनेछ । अघिल्लो चरणमा पुग्न सेनेगललाई बराबरीले पुग्ने छ । कोलम्बियालाई जित्नै पर्ने दबाब छ । यस्तोमा सेनेगलविरुद्ध कोलम्बिया आक्रामक खेल्ने छ । तर, बलियो सेनेगल कोलम्बियालाई रोक्दै अर्को चरणमा पुग्न चाहन्छ ।
यो खेलमा सेनेगलले जितेमा सेनेगल समूह बिजेता बन्ने सम्भावना रहन्छ । पराजित भएमा सेनेगलको दोस्रो चरणको यात्रा अन्त्य हुने सम्भावना पनि उत्तिकै छ । सेनेगल पराजित भएमा र जापानले जितेमा कोलम्बिया नकआउट चरणमा पुग्नेछ । यदि कोलम्बिया पराजित भएमा सेनेगल र जापानले नकआउट चरणमा स्थान बनाउने छन् ।