एजेन्सी । ब्राजिल समूह बिजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सर्बियालाई २ - ० ले हराउदै ब्राजिल समूह बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
स्पार्टक रंगशालामा ब्राजिललाई जित दिलाउन पाउलिन्हो र थियागो सिल्भाले समान एक एक गोल गरे । जितसँगै समूह बिजेता ब्राजिलले समूह ई बाट ७ अंक जोड्यो । ३ अंक जोडेको सर्बिया समूह चरणबाट बाहिरियो । यो समूहबाट स्विजरल्याण्ड ५ अंक जोड्दै उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । स्विजरल्याण्डले अन्तिम खेलमा कोष्टारिकासंग २ - २ गोलको बराबरी खेलेको थियो । १ अंक जोडेको कोष्टारिका पनि समूह चरणबाट बाहिरियो ।
समूह बिजेता बन्ने क्रममा ब्राजिलले दुवै हाफमा समान एक एक गोल गरेका थिए । पहिलो हाफमा १ - ० ले अघि रहेको ब्राजिलले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाएको हो । नेयमारले प्रहार गरेको कर्नर बलमा थियागो सिल्भाले उत्कृष्ट हेड गोल गर्दै ब्राजिललाई २ - ० को जित दिलाए । त्यसअघि खेलको ३६ औं मिनेटमा कौटिन्होको पासमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।
अब ब्राजिलले नकआउट चरणमा समूह एफको उपविजेता मेक्सिको र स्विजरल्याण्डले बिजेता स्विडेनसंग खेल्ने छ ।