एजेन्सी । साबिकको बिजेता जर्मनी रुसमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार दक्षिण कोरियासंग २ - ० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो ।
कजान एरिनामा जित्नै पर्ने खेलमा जर्मनी दक्षिण कोरियासंग स्तब्ध भएको हो । दक्षिण कोरियाको लागि इन्जुरी समयमा योङ्ग किम र ह्युंग मिन सनले समान एक एक गोल गरे ।
खेलको ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा दुई गोल गर्दै दक्षिण कोरियाले जर्मनीविरुद्ध सहज जित निकालेको हो । इन्जुरी समयको चौथो मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयको सातौ मिनेटमा जर्मनीको किपर अगाडी बढेको मौकामा सनले गोल गर्दै दक्षिण कोरियालाई २ - ० को महत्वपूर्ण जित दिलाए ।
यो हारसंगै चार पटकको विश्वकप बिजेता जर्मनी ८० बर्षपछि पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको छ । यसअघि जर्मनी सन् १९३८ को विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो । आधुनिक विश्वकपमा भने जर्मनी पहिलो पटक समूह चरणबाट बाहिरिएको हो ।
समूह एफमा रहेको जर्मनीले समूह चरणमा ३ अंक जोड्न सफल भयो । र, जर्मनी समूहको पुछारमा रहदै विश्वकपबाट घर फर्किएको हो । जर्मनीलाई अन्तिम खेलमा हराएपनि दक्षिण कोरिया नकआउट चरणमा पुग्न सकेन । ३ अंक जोडेको दक्षिण कोरिया तेस्रो स्थानमा रह्यो ।
यो समूहबाट ६ अंक जोडेको स्विडेन समूह बिजेता र समान अंक जोडेको मेक्सिको उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् ।