धनगढी । सुदुरपश्चिममा दुई दिने साईकल यात्रा 'टुर दी फारवेष्ट' आयोजना हुने भएको छ ।
आयोजक युथ स्पोटर्स क्लब धनगढीले शनिबार पत्रकार सम्मेलन गर्दै पर्यटन प्रवर्दनका लागि दुई दिने साईकल यात्रा आयोजना गर्न लागेको जानकारी गराएको छ ।
साइकल यात्रा फागुन २४ गते धनगढीदेखि सुरु भएर फागुन २५ गते महेन्द्रनगर पुगेर समापन हुने छ । साईकल यात्रामा देशभरका ४० जना साईकल यात्रीहरुको सहभागीता रहनेछ ।
धनगढी रंगशालादेखि साईकल यात्रा सुरु भएर विभिन्न स्थानमा स्वागत हुँदै पहिलो दिन मझगाउँ होमस्टेमा वास वस्नेछ । दोस्रो दिन कञ्चनपुरका पर्यटकीय क्षेत्रको साईकल मार्फत भ्रमण गराएर कार्यक्रम समापन गर्ने तालिका बनाईएको पत्रकार सम्मेलनमा टुर दी फारवेष्ट साईकल यात्राका संयोजक टेकराज पनेरुले जानकारी दिए ।
साईकल र्यालीमा विश्व भ्रमण गरिसकेका साईकल यात्री पुष्कर शाहको पनि सहभागिता रहनेछ । यस्तै देशका विभिन्न स्थानका गरी ४० जनाभन्दा बढी साईकल यात्रीहरुले टुर दी फारवेष्ट साईकल यात्रामा सहभागिता जनाउनेछन् ।
पर्यटकीय क्षेत्रको प्रचार प्रसार र आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि गरिन लागेको कार्यक्रमका लागि झण्डै साढे ३ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतिस्पर्धा विना नै पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम गर्न लागेको आयोजक युथ स्पोर्टस क्लबका अध्यक्ष सुरेन्द्र शाहीले जानकारी दिए ।