काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २३ औं विद्यालयस्तरीय राष्ट्रिय खेलकुद बिहीबारदेखि हुने भएको छ ।
फरक क्षमता भएका व्यक्तिहरुको यो प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा र दृष्टिविहनीतर्फ प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख समेत रहेका प्रतियोगिता व्यवस्थापन समितिका सचिव मिनकुमार शर्माले जनाएका छन् ।
शारीरिक अपाङ्गतर्फ उपत्यका बाहिराबाट ३० र उपत्यकाबाट ४५ गरी ७५ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । बहिरातर्फ १० स्पर्धामा उपत्यका बाहिराबाट ६० र उपत्यकाबाट ४० खेलाडीले भाग लिने छन् । त्यस्तै दृष्टिविहीनतर्फ उपत्यका बाहिराबाट ५३ र उपत्यकाबाट ६० खेलाडीले १६ स्पर्धामा सहभागी हुनेछन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ७५ हजार ५ सय रुपैयाँ रहेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख रुपैयाँ खर्च हुनेछ । एथलेटिक्सतका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।