एजेन्सी । रुस विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज जर्मनीले दक्षिण कोरियासँग खेल्दैछ । समूह एफ मा रहेको दुवै टोलीको लागि यो महत्वपूर्ण खेल रहेको छ ।
कजान एरिनामा हुने खेलमा जर्मनी दक्षिण कोरियालाई हराउदै नकआउट चरणमा पुग्न चाहन्छ । ३ अंक जोडेको जर्मनीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । पराजित वा बराबरीमा रोकिए अन्य खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
अंक बिहिन रहेको दक्षिण कोरिया जर्मनीलाई हराउदै ३ अंक जोड्न चाहन्छ । ३ अंक जोडेमा र अन्य खेल आफु अनुकुल आएमा कोरिया पनि नकआउट चरणमा पुग्ने छ । यस्तोमा दुवै टोली आफ्नो लक्ष्य प्राप्तिमा हुनेछ । त्यसैले दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
दुई टोलीबीच मैदान उत्रदा मुख्य त् दुई खेलाडी दृश्यमा रहनेछन् । जर्मनीका टोनी क्रुस र कोरियाका सन ह्युन मिन । यी दुई खेलाडीको प्रदर्शनले दुई राष्ट्रको भाग्य तय हुनेछ ।
प्लेयर्स टु वाच :
टोनी क्रुस (जर्मनी)
जर्मनीको मिडफिल्ड सम्हाल्न सक्ने खेलाडी हुन् टोनी क्रुस । अझ, उनी डिबक्स बाहिरबाट गोल गर्न माहिर मानिन्छन् ।
दक्षिण कोरियाविरुद्ध जर्मनीले आज उनैलाई मुख्य हतियार बनाउने छन् । जर्मनीको नकआउट चरणको यात्रा उनैमा निर्भर हुनेछ । किनकी जर्मनी दक्षिण कोरियाविरुद्ध गर या मरको अवस्थामा छ । स्पेनिस क्लब रियल मड्रिडका प्ले मेकर क्रुसले स्विडेनविरुद्ध गरेको गोल निकै उकृष्ट थियो । जसको कारणले जर्मनीले नकआउट चरण पुग्ने संभवाना बलियो बनाएको हो ।
रियल मड्रिडले यो सिजनको च्याम्पियन्स लिग जित्दा २८ वर्षिय क्रुसको भूमिका महत्वपूर्ण रहेको थियो । उनले यो सिजन च्याम्पियन्स लिगमा १२ खेलमा खेलेका थिए । ला लिगामा २७ खेल खेल्दै ५ गोल गरेका क्रुसले ७ गोलको लागि पास सिर्जना गरेका थिए । विश्वकप छनोटमा ७ खेल खेलेका क्रुसले एक गोल गरेका थिए ।
मेक्सिको र स्विडेनविरुद्ध पुरै समय मैदानमा रहेका क्रुस लामा लामा पास खेल्न र मध्ये भागबाट लामा सट प्रहार गर्न माहिर मानिन्छन् । बल पोजिसनमा पकड बनाउन सिपालु क्रुसबाट जर्मनीले आज निकै अपेक्षा राखेको छ ।
सन ह्युङ मिन (दक्षिण कोरिया)
रुस विश्वकप दक्षिण कोरियाको यात्रा राम्रो रहेन । अघिल्ला दुई खेल हारेको कोरियाले आज जर्मनीसंग खेल्दै छ । जर्मनीसँग मैदान उत्रदा कोरियाको लक्ष्य हुनेछ अंक जोड्नु । र, कोरियाका मुख्य खेलाडी हुनेछन् मिडफिल्डर सन ।
युरोपका प्रतिष्ठित लिगमा आफ्नो क्षमता प्रदर्शन गर्दै आइरहेका २५ वर्षिय सन इङिलस प्रिमियर लिग क्लब टोटनह्यामबाट खेल्ने गर्छन् । यो सिजन सनले ३७ खेल खेलेर १२ गोल गर्दै गोलका लागि ६ पास सिर्जना गरेका थिए । यस्तै सनले च्याम्पियन्स लिगमा दुई र एफए कपमा ७ खेल खेल्दै गोलको लागि दुई पास सिर्जना गरेका थिए ।
स्विडेन र मेक्सिकोविरुद्ध दुवै खेलमा पुरै समय मैदानमा बिताएका सनले एक गोल गरिसकेका छन् । लामा बल खेल्न, बलनियन्त्रण गर्न र उकृष्ट क्रस गर्नमा माहिर सन जर्मनीविरुद्ध चम्कने विश्वास गरिएको छ ।