एजेन्सी । रुस विश्वकप, समूह 'एफ' । अन्तिम चरणको एक खेल बाँकी । मेक्सिको शीर्षमा, जर्मनी, स्विडेन र दक्षिण कोरिया क्रमस दोस्रो, तेस्रो र चौथो । शीर्ष तीन टोलीको नकआउट चरण पुग्ने सम्भावना बलियो तर दक्षिण कोरियाको सम्भावना निकै कम ।
यस्तोमा आज समूह 'एफ' को समूह चरणको अन्तिम चरणको दुई खेल हुँदैछ । मेक्सिकोले स्विडेनको सामना गर्दा जर्मनीले दक्षिण कोरियासँग खेल्दैछ । दुवै खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ । र, सवैको खुल्दुली हुनेछ, यो समूहबाट कुन कुन टोली नकआउट चरणमा पुग्छ ? यो समूहमा चार टोली नकआउट चरणमा पुग्ने होडमा छ । तर, दुई टोलीले मात्र नकआउट चरणमा स्थान बनाउने छ ।
सोझो समीकरण हेर्दा यो समूहबाट मेक्सिकोलाई सबैभन्दा सहज हुनेछ । जर्मनी र स्विडेनलाई जित निकाल्नुको विकल्प छैन । तर, समीकरण हेर्दा शीर्ष स्थानको मेक्सिको पनि समूह चरणबाट बाहिरिने देखिन्छ । स्विडेन र जर्मनीले ठुलो अन्तरको जित निकालेमा । यता,दक्षिण कोरियाको पनि गणितीय सम्भावना छ । मेक्सिकोसँग स्विडेन पराजित भएमा र जर्मनीलाई ठुलो अन्तरमा हराएमा दक्षिण कोरिया पनि दोस्रो चरणमा पुग्ने समीकरण छ ।
एकाटेरीङवर्गमा स्विडेनविरुद्ध मैदान उत्रदा ढुक्क हुने छैन मेक्सिको । किनकी, इटालीलाई प्ले अफमा स्तब्ध बनाएर विश्वकप यात्रा तय गरेको स्विडेन बलियो टोली हो । अनि, स्विडेनलाई अघिल्लो चरण पुग्न जित्नै पर्ने दबाब छ । यस्तोमा स्विडेनले जित निकाल्न सबै अस्त्र प्रयोग गर्न सक्छ ।
अघिल्ला दुई खेलमा जित हात पारेको मेक्सिकोलाई बराबरी भए नकआउट चरण पुग्न प्रयाप्त हुनेछ । तर, हारले मेक्सिकोलाई पनि झस्काउने छ । किनकी, मेक्सिको पराजित भए स्विडेनको पनि ६ अंक हुनेछ । अर्को खेलमा जर्मनीले दक्षिण कोरियालाई हराए उसको पनि ६ अंक हुनेछ । तीन टोलीको बराबर अंक हुँदा गोल अन्तरले अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्ने छ । यस्तोमा मेक्सिको पछि पर्ने संभवाना रहन्छ ।
मेक्सिको स्विडेनविरुद्ध ३ अंक निकाल्दै समूह बिजेता बन्न चाहन्छ । स्विडेनविरुद्ध जितको लागि आफ्ना पहिलो रोजाईको खेलाडीमा परिवर्तन नगर्ने मेक्सिकोका प्रशिक्षक कार्लोस ओसोरिओले बताईसकेका छन् । ओसोरिओले भनेका छन्, 'मलाई लाग्छ परिवर्तन हुनेछैन, हामी ३ अंक जोड्ने सक्दो प्रयास गर्नेछौं ।'
यता, नकआउट चरणमा पुग्न स्विडेनलाई बराबरीले प्रयाप्त हुँदैन । मेक्सिकोलाई २ – ० ले हराउन सके स्विडेनले अन्तिम १६ को यात्रा गर्नेछ । त्यसको लागि स्विडेनले प्रयास गर्नेछ । 'मेक्सिको व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडी रहेको टिम हो । तिनीहरूले दुई उत्कृष्ट खेल खेलेका छन् र काउन्टर अट्याकमा राम्रो छन् । हामी हाम्रो सम्पूर्ण दिने छौ । जसले हामीलाई नतिजा पुरा गर्न सहयोग गर्ने छ,' स्विडेनका कप्तान आन्द्रियास ग्रान्डभिस्टले भनेका छन् ।
दक्षिण कोरियाविरुद्ध कजान एरिनामा मैदान उत्रदा साबिकको विजेता जर्मनीलाई निकै दबाब हुनेछ । कतै समूह चरणबाटै बाहिरिने त् हैन भन्ने जर्मनीलाई चिन्ता छ । तर, दक्षिण कोरियाले लगातार दुई खेल गुमाईसकेको कारण जर्मनी केहि आश्वस्त हुनेछ ।
दक्षिण कोरियाविरुद्ध जर्मनीको प्लेइङ सेट केहि परिवर्तन हुनेछ । स्विडेनसंगको खेलमा घाइते भएका साबिस्टाइन रुडी मैदानमा देखिने छैनन् । तर, म्याट्स हुमेल्स खेलमा फर्कने छन् । यता, कप्तान स्युङयुङ कि को इन्जुरिले दक्षिण कोरियालाई सताउने छन् । कोरियाका कप्तान मैदान प्रवेश गर्ने संभवाना कम रहेको छ ।
दक्षिण कोरियामाथि जित हात पारे जर्मनीको नकआउट चरण पक्का हुनेछ । तर, मेक्सिकोले स्विडेनलाई हराउनु वा बराबरी खेल्नु पर्ने हुन्छ । कोरियामाथि जित निकाले जर्मनीले ६ अंक जोड्ने छ । बराबरी खेलमा जर्मनीको अघिल्लो चरण यात्रा मेक्सिको र स्विडेनको खेलले तय गर्ने छ ।
उता मेक्सिकोले स्विडेनसँग बराबरी वा जित निकालेमा मेक्सिको समूह विजेता बन्ने छ । जितमा मेक्सिको ९ र बराबरीमा ७ अंक हुनेछ । मेक्सिकोसँग स्विडेन पराजित भएमा जर्मनीको भाग्य खुल्ने छ । स्विडेनले मेक्सिकोलाई हराए स्विडेनको पनि दोस्रो चरण यात्रा कायम रहन्छ ।
यदि मेक्सिको र स्विडेन तथा दक्षिण कोरिया र जर्मनीले बराबरी खेलेमा जर्मनी र स्विडेनको समान ४ – ४ अंक हुनेछ । यस्तोमा गोल अन्तरमा अघि रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । दक्षिण कोरियालाई भने बराबरीले केहि फाइदा पुग्ने छैन । कोरियालाई फराकिलो जित र भाग्यको साथ चाहिन्छ ।