एजेन्सी । अर्जेन्टिना रुसमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २ - १ ले हराउदै अर्जेन्टिना समूह उपविजेता बन्दै विश्वकपको अन्तिम १६ मा पुगेको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको महत्वपूर्ण खेलमा अर्जेन्टिनालाई जित दिलाउनलियोनल मेस्सी र मार्कोस रोजोले समान एक एक गोल गरे । नाइजेरियाका भिक्टर मोसेसले एक गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ८६ औं मिनेटमा रोजोले गोल गर्दै अर्जेन्टिनालाई २ - १ को जितसहित नकआउट चरणमा लगेका हुन् । एक एक गोलको बराबरीमा सकिएको भए अर्जेन्टिना समूह चरणबाट बाहिरिने थियो । तर, रोजोले उत्कृष्ट गोल गर्दै टोलीलाई अन्तिम १६ को यात्रा तय गराए ।
त्यसअघि खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । विश्वकपमा मेस्सीको यो पहिलो गोल हो । तर, खेलको ५१ औं मिनेटमा नाइजेरियाका मोसेसले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाका मस्चिरानोले नाइजेरियाका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा मोसेसले सहजै गोल गरेका हुन् ।
जितपछि समूह डी को अर्जेन्टिनाले ३ खेलबाट ४ अंक जोड्यो । यो समूहबाट क्रोएसियाले ९ अंक जोड्दै समूह बिजेता बन्यो । नाइजेरिया र आइसल्याण्ड भने समूह चरणबाट बाहिरिएका छन् । नाइजेरियाले ३ अंक जोड्दा आइसल्याण्डले १ अंकमा चित्त बुझायो ।