एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले अहिले नाइजेरियासँग खेल खेलिरहेको छ । जारी खेलको पहिलो हाफमा नाइजेरियाबिरुद्ध अर्जेन्टिनाले १-० को अग्रता बनाएको छ ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा मैदानमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलबाट सुरुवाती अग्रता बनाएको छ । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । जारी विश्वकपमा मेस्सीको यो पहिलो गोल हो ।
समूह डीमा रहेको नाइजेरिया र अर्जेन्टिना महत्वपूर्ण खेल खेल्न मैदान उत्रिएका हुन् । दुवै टोली आज गर या मरको स्थितिमा छ ।
समूह डी मा रहेका दुवै टोलीलाई नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब छ । बराबरी खेलेमा अर्जेन्टिनाको सम्भावना समाप्त हुनेछ भने नाइजेरियाको भाग्य अर्को खेलमा निर्भर हुनेछ । तर, अर्जेन्टिनासँग बराबरी खेलेमा नाइजेरियाको दोस्रो चरणको यात्रा निकै बलियो हुनेछ ।
यो समूहबाट क्रोएसिया नकाउट चरणमा पुगिसकेको छ । त्यसैले नाइजेरिया र अर्जेन्टिनाबीचको खेलले यो समूहबाट दोस्रो चरण पुग्ने अर्को टोलीको तय हुनेछ ।