काठमार्डौ । सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर समानुपातिक रुपमा बजेट विनियोजन गरी नवीनतम प्रविधिको प्रयोगलाई विशेष जोड दिएको छ ।
खेलकूद क्षेत्र राष्ट्रिय भावनाको अभिवृद्धि समेत गराउने महत्वपूर्ण माध्यम भएकाले सरकारले प्रमुख प्राथमिकतामा राखेको हो । विनियोजन विधेयक, २०७५ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयमाथि सांसदले उठाउनु भएको प्रश्नको जवाफ दिँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले ७ सय ५३ वटै स्थानीय तहमा खेल मैदान निर्माण गर्ने कार्यक्रम तथा बजेट र नीति अगाडि सारेको बताएका छन् ।
सरकारले खेलकूद क्षेत्रलाई आर्कषणको केन्द्रका रुपमा विकास गर्न खेलाडीलाई जीवनयापनका लागि महत्वपूर्ण नीति अगाडि सारेको उल्लेख गर्दै उनले खेलाडीलाई मासिक भत्ताको व्यवस्था गरिएको बताए ।
केही समयभित्रै तेह्राँै दक्षिण एसियाली खेलकूद काठमाडौँ र पोखरामा आयोजना गर्ने भएकाले सो कार्यका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको उल्लेख गर्दै उनले नेपालगन्जमा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गरिएकाले सो जिल्ला वरपर नै बढी बजेट विनियोजन भएको जानकारी दिए ।
मन्त्री विश्वकर्माले सबै प्रदेशमा नियमित रुपमा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गरिने र खेलकूद क्षेत्रको भौतिक पूर्वाधार विकासमा ध्यान दिइने पनि बताएका छन् ।
चालु आवमा भन्दा आगामी आवका लागि बढी बजेट विनियोजन गरिएको बताउँदै उनले यसले खेलकूद क्षेत्रको विकासका लागि आधार तयार हुने विश्वास व्यक्त गरे ।