एजेन्सी । फ्रान्स समूह विजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेल्दै फ्रान्स समूह बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
लुजिनिकी रंगशालामा समूह 'सी' मा रहेका दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् । विश्वकपकै यो पहिलो गोलरहित बराबरी हो । खेल अवधिभर बल पोजिसनमा पकड जमाए पनि फ्रान्सले डेनमार्कविरुद्ध गोल गर्न सकेनन् ।
यो बराबरीपछि फ्रान्सले खेलबाट ७ अंक जोड्यो । फ्रान्सले समूह चरणमा अष्ट्रेलिया र पेरुलाई हराएको थियो । फ्रान्सले अन्तिम १६ मा समूह डी को उपविजेतासँग खेल्ने छन् ।
यता, यो समूहबाट डेनमार्क पनि उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । डेनमार्कले ५ अंक जोड्यो । डेनमार्कले अन्तिम १६ मा समूह डी को बिजेतासँग खेल्ने छ । डेनमार्कले समूह चरणमा पेरुलाई हराएको थियो । यो समूहबाट ३ अंक जोडेको पेरु र १ अंक जोडेको अष्ट्रेलिया समूह चरणबाटै बाहिरियो ।