किन कमजोर भयो इटाली ?
-1775060945462.webp&w=3840&q=75)
काठमाडौं। इटालीले १९९४ को विश्वकपअन्तर्गत रोज बाउलमा भएको फाइनलमा रोबर्टो बाज्जियोले गरेको पेनाल्टी मिसको बदला लिने मौका यसपटक पनि पाउने छैन।
चार पटकको विश्वविजेता इटाली यस वर्ष उत्तर अमेरिकामा हुने प्रतियोगितामा नै पुग्न सकेन। ६६औं वरीयतामा रहेको बोस्निया–हर्जेगोभिनासँग प्लेअफमा पेनाल्टी सुटआउटमा पराजित हुँदै इटाली बाहिरिएको हो।
यससँगै इटाली लगातार तेस्रो विश्वकपबाट बाहिरिएको छ। यसअघि २०१८ विश्वकपअघि स्वीडेनसँग र २०२२ मा नर्थ म्यासेडोनियासँग यही चरणमा हार बेहोरेको थियो।
-1775095139408.webp)
इटाली कमजोर हुनुका पाँच कारण यसप्रकार छन्:
डेल पिएरो र टोटीजस्ता खेलाडीको अभाव
२००६ को विश्वकप जितेको टोलीमा आलेस्सान्द्रो डेल पिएरो, फ्रान्चेस्को टोटी र आन्द्रेआ पिर्लोजस्ता स्टार खेलाडी थिए। तर, अहिले त्यस्तो स्तरका खेलाडीहरू लामो समयदेखि देखिएका छैनन्।
हालको टोलीमा सबैभन्दा महँगो खेलाडी मिडफिल्डर सान्द्रो टोनाली हुन्। उनलाई २०२३ मा न्युक्यासलले करिब ८० मिलियन युरोमा किनेको थियो। त्यसबाहेक विश्वस्तरका खेलाडीका रूपमा म्यानचेस्टर सिटीका गोलकिपर जियानलुइजी डोनारुम्मा मात्र देखिन्छन्।
टिमका मुख्य स्ट्राइकरमा अर्जेन्टिनामा जन्मिएका मातेओ रेतेगुई र फियोरेन्टिनाका मोइसे किन हुन्।
सिरी ‘ए’ अब ‘रिटायर्मेन्ट’
८० र ९० को दशकमा इटालीको सिरी ‘ए’ विश्वकै उत्कृष्ट लिग मानिन्थ्यो। डिएगो माराडोना, मार्को भान बास्टेन र रुड गुलिटजस्ता खेलाडीहरूले आफ्नो करिअरको उत्कर्षमा यहाँ खेलेका थिए।
-1775095170419.webp)
२००७ मा एसी मिलानबाट काकाले बलोन डि’ओर जितेका थिए। उनी इटालीको लिगबाट बलोन डि’ओर जित्ने अन्तिम खेलाडी हुन्। तर, अहिले ४० वर्षीय लुका मोड्रिच (मिलान) र ३९ वर्षीय जेमी वार्डी (क्रेमोनेसे) जस्ता खेलाडीहरू करिअरको अन्त्यतिर सिरी ‘ए’मा आएका छन्।
यसले लिगको स्तर घटाएको छ। जसको असर राष्ट्रिय टोलीमा पनि परेको छ। पहिले इटाली टोलीको मेरुदण्ड मानिने युभेन्ट्सले २०२० पछि सिरी ‘ए’ जित्न सकेको छैन। प्लेअफ टोलीमा मिलानका कुनै पनि खेलाडी थिएनन्।
टेनिसको प्रभाव बढ्दो
ज्यानिक सिनरको सफलताले इटालीमा टेनिस लोकप्रिय बन्दै गएको छ। धेरै बालबालिका फुटबलभन्दा टेनिसतिर आकर्षित भइरहेका छन्।
२०२५ मा २ करोड १६ लाख इटालियनले आफू फुटबल समर्थक भएको बताएका थिए भने १ करोड ९९ लाखले टेनिस र प्याडेल हेर्ने बताएका थिए। फर्मुला वानमा पनि १९ वर्षीय किमी एन्टोनेल्लीले लगातार दुई रेस जितेका छन्।
त्यस्तै, मिलान–कोर्टिना शीतकालीन ओलम्पिकमा पनि इटालीले उत्कृष्ट प्रदर्शन गरेको छ।
प्रशिक्षक जेनारो गात्तुसोले भने,‘यी सबै चक्रमा चल्छन्। अन्य खेलमा जित्दा गर्व लाग्छ, तर अहिले हाम्रो इतिहासले देखाउँछ कि हामी संघर्ष गरिरहेका छौं।’
राष्ट्रिय टोलीप्रति उत्साहको कमी
ठूला प्रतियोगिताको अन्तिम चरणमा बाहेक इटालीको राष्ट्रिय टोलीप्रति घरेलु समर्थन कम देखिन्छ। क्लबहरूका जस्तै ‘अल्ट्रास’ समर्थक समूह राष्ट्रिय टोलीसँग छैनन्।
गत साता गात्तुसोले सान सिरोको सट्टा सानो बर्गामो स्टेडियममा खेल खेल्न रुचाए। किनकि उनले मिलान र इन्टरका समर्थकहरूले फरक क्लबका खेलाडीलाई सिट्टी बजाएर दबाब दिएको देखिएको थियो।
उनले भने,‘पहिलो गल्तीमै सिट्टी बज्न थाल्छ।’
स्टेडियम पूर्वाधारमा पछि
इटाली अन्य युरोपेली लिगहरूको तुलनामा नयाँ स्टेडियम निर्माणमा निकै पछाडि छ।
मिलान र इन्टरले हालै मात्र सान सिरो किनेर नयाँ स्टेडियम बनाउने योजना अघि बढाएका छन्, जुन २०३२ युरोका लागि तयार पारिनेछ। रोमाले पनि दशकभन्दा बढी समयको ढिलाइपछि आफ्नै स्टेडियम निर्माणका लागि अन्तिम अनुमति लिएको छ।
हाल इटालीका ठूला क्लबमध्ये आधुनिक स्टेडियम स्वामित्वमा राख्ने क्लब युभेन्ट्स मात्र हो। स्टेडियमबाट पर्याप्त आम्दानी नहुँदा क्लबहरूले विदेशी धनी क्लबहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। यसले सिरी ‘ए’ र राष्ट्रिय टोली दुबैलाई कमजोर बनाएको छ।












