एजेन्सी । महत्वपूर्ण खेलमा आज अर्जेन्टिनाले नाइजेरियासँग खेल्दैछ । र, दुवै टोली आज गर या मरको स्थितिमा छ ।
समूह डी मा रहेका दुवै टोलीलाई नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब छ । बराबरी खेलेमा अर्जेन्टिनाको सम्भावना समाप्त हुनेछ भने नाइजेरियाको भाग्य अर्को खेलमा निर्भर हुनेछ । तर, अर्जेन्टिनासँग बराबरी खेलेमा नाइजेरियाको दोस्रो चरणको यात्रा निकै बलियो हुनेछ ।
यो समूहबाट क्रोएसिया नकाउट चरणमा पुगिसकेको छ । त्यसैले नाइजेरिया र अर्जेन्टिनाबीचको खेलले यो समूहबाट दोस्रो चरण पुग्ने अर्को टोलीको तय हुनेछ ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा नाइजेरिया र अर्जेन्टिना मैदान उत्रदा ३ अंक जोड्ने लक्ष्यमा हुनेछ । यस्तोमा दुवै टोलीले आफ्नो अन्तिम शक्ति प्रयोग गर्ने छन् । जितका लागि सबै अश्त्र प्रहार गर्ने छन् । नाइजेरियाविरुद्ध अर्जेन्टिनाले लियोनल मेस्सीलाई मुख्य हतियार बनाउने छन् । यस्तै नाइजेरियाले अहमेद मुसालाई प्रमुख खेलाडीको रुपमा मैदान उतार्ने छन् ।
लियोनल मेस्सी (अर्जेन्टिना)
विश्वकपको अर्को चरणमा पुग्न अर्जेन्टिनालाई आज निकै चमत्कार खेल खेल्नु पर्ने हुन्छ । किनकि नाइजेरियाले पछिल्लो खेलमा निकै शानदार प्रदर्शन गरेको छ । यस्तोमा अर्जेन्टिनाले कप्तान मेस्सीलाई मुख्य हतियार बनाउने छ ।
अर्जेन्टिनाको दोस्रो चरणको लागि मेस्सीको खेल पनि उच्च रहनु पर्नेछ । सुरुवाती दुई खेलमा १ अंक मात्र जोडेको अर्जेन्टिनाको लागि मेस्सी नै आजको नायक बन्न सक्ने छन् । क्लब फुटबलमा सबै उपाधि जितिसकेका मेस्सीले विश्वकपको उपाधि जित्न सकेका छैनन् । मेस्सीको लागि यो अन्तिम विश्वकप रहने छ । त्यसैले ३१ बर्षीय मेस्सीले नाइजेरियाविरुद्ध उत्कृष्ट खेल्ने विश्वास गरिएको छ ।
यो सिजन युरोपमा सर्वाधिक गोलकर्ता बनेका मेस्सीले ३६ खेलमा ३४ गोल गरेका थिए । उनले यो सिजन गोल्डेन बुट समेत जितेका थिए । च्याम्पियन्स लिगमा मेस्सीले १० खेलमा ६ गोल गरेका थिए । यस्तै मेस्सीले विश्वकप छनोटको १० खेलमा ७ गोल गरेका थिए । तर, यो विश्वकपमा मेस्सीले गोलको खाता खोल्न सकेका छैनन् ।
बल नियन्त्रण गर्न, छोटा छोटा पास र गोल गर्न सिपालु मेस्सीले नाइजेरियाविरुद्ध जादु देखाउने सम्भावना छ । स्ट्राइकर र मिडफिल्डर दुवै पोजिसनमा खेल्न सक्ने मेस्सी आजको खेलमा जम्न सके नाइजेरियालाई निकै कठिन हुनेछ ।
अहमेद मुसा (नाइजेरिया)
विश्वकपको अन्तिम १६ मा पुग्न नाइजेरियालाई आज जितको विकल्प छैन । तर, नाइजेरिया बलियो टोली अर्जेन्टिनासँग खेल्दैछ । यस्तोमा नाइजेरियालाई अन्तिम १६ मा अहमेद मुसाको भूमिका महत्वपूर्ण हुने छ ।
जारी विश्वकपमा दुई गोल गरिसकेका मुसाले आइसल्याण्डविरुद्ध निकै उत्कृष्ट खेलका थिए । त्यसैले आज नाइजेरियाले यी २५ वर्षिय स्ट्राइकरलाई मुख्य हतियार बनाउने छन् । रसियन लिग सिएसके मस्कोबाट खेल्दै आएका मुसाले १० खेल खेल्दै ६ गोल गरेका थिए । च्याम्पियन्स लिगको पाँच खेल खेलेका मुसाले विश्वकप छनोटमा दुई खेल खेलेका थिए ।
निकै छिटो खेल खेल्न माहिर मुसा गोल गर्न पनि माहिर मानिन्छन् । त्यसैले मुसा आजको खेलमा जम्न सकेमा अर्जेन्टिनाको डिफेन्स र किपटलाई निकै चुनौती हुनेछ ।