श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

काठमाडौं। इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ को पहिलो खेलमा श्रीलंकामाथि ५१ रनको प्रभावशाली जित निकालेको छ।
यससँगै श्रीलंका टी–२० आईमा इङ्ल्यान्डसँग लगातार १२औं पटक पराजित भएको छ।
१४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा मात्र ९५ रनमा अलआउट भयो। सुरुआतदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा श्रीलंकाली ब्याटिङ सम्हालिन सकेन।
पाथुम निसाङ्काले ९ रन बनाउँदा कमिल मिशाराले ६ रन जोडे। कुशल मेन्डिस ४ रनमै आउट भए भने पवन रत्नायके खाता नै नखोली पभेलियन फर्किए। दुनिथ वेलालागे (१०) र कमिन्दु मेन्डिस (१३) ले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी बन्न सकेन।
कप्तान दासुन शनाकाले सर्वाधिक ३० रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन पर्याप्त भएन। अन्त्यतिर माहिश थीक्षानाले १० रन बनाए।
इङ्ल्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जोफ्रा आर्चरले सुरुआती दुई महत्त्वपूर्ण विकेट लिए भने विल ज्याक्सले ३ विकेट हात पार्दै श्रीलंकाको मध्यक्रम ध्वस्त पारे। लियाम डसनले २ विकेट लिए भने आदिल राशिद र जेमी ओभरटनले पनि समान २–२ विकेट लिए।
त्यसअघि पल्लीकेलेमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।
इङ्ल्यान्डका फिल साल्टले सर्वाधिक ६२ रन बनाए। उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। तर, अन्य ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली सामान्य स्कोरमा सीमित भयो। कप्तान ह्यारी ब्रुकले ७ बलमा १४ रन जोडे भने विल ज्याक्सले १४ बलमा २१ रन बनाए।
सुरुआतमै जोस बटलर ७ रनमा आउट भएपछि इङ्ल्यान्ड दबाबमा परेको थियो। नियमित अन्तरालमा विकेट झर्दा टोलीले गति सम्हाल्न सकेन। अन्तिम पाँच ओभरमा ४० रन जोडिए पनि ३ विकेट गुमाउनुपर्यो।
बलिङतर्फ श्रीलंकाका दुनिथ वेलालागेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। माहिश थीक्षानाले २ विकेट लिए भने दिलशान मदुशंकाले पनि २ विकेट हात पारे।
दुष्मन्था चामेराले १ विकेट लिए।














